अर्को वर्षसम्म बगनासकालीका सबै घरमा टिनको छानो

0
353

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
बगनासकाली गाउँपालिकाले गाउँपालिका भित्रका ८३ घर परिवारलाई जस्ता पाता बितरण गरेको छ । बगनासकाली गाउँपालिकाले फुसरहित घर अभियान अन्र्तगत आर्थिक वर्ष २०७५, ०७६ मा बिनियोजित २५ लाख रुपैयाँ बजेटबाट २ सय ५० बन्डल जस्ता पाता खरिद गरि प्रति घर ३ बन्डलका डरले ८३ घरलाई जस्ता पाता बितरण गरिएको हो ।

वडा नं. १ चिर्तुंगधाराका ७ घरलाई आइतवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच जस्ता पाता बितरण गरियो । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती दर्लामी चिदी, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, वडा नं. १ का अध्यक्ष सोम बहादुर झेडी, न्यायिक समिति सदस्य कुल प्रसाद ढुंगाना लगायतले जस्तापाता बितरण गरे ।

जस अन्र्तगत वडा नं. १ चिर्तुंधारामा ७ घर, वडा नं. २ पोखराथोकमा १७ घर, वडा नं. ३ नायरमा ३ घर, वडा नं. ४ खानीछापामा २ घर, वडा नं. ६ यम्घामा २५ घर, वडा नं. ७ खानीगाउँमा १७ घर र वडा नं. ८ बरांगदीमा १२ घरलाई जस्ता पाता बितरण हुने बताइएको छ । यो सँगै चापपानी, दर्लमडाँडा, चिर्तुंगधारा, नायर, खानीछाप र बरांगदी गरि गाउँपालिकाका ५ वटा वडा खरको छानो रहित वडा हुने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

बाँकी ३ वटा वडाहरु पोखराथोक, यम्घा र खानीगाउँमा रहेका १ सय ६ बाँकी घरहरुलाई आगामी वर्षको कार्यक्रमबाट जस्ता पाता बितरण गरि बगनासकालीलाई फुसको घर रहित गाउँपालिका घोषणाको कार्यक्रम रहेको अध्यक्ष बस्यालले बताए । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी मगरले यसरी बाडिएका टिनबाट वास्तवमै आर्थिक संकटमा परेर खरको छानोमा बस्न बाध्य समुदाय लाभान्वित भएको बताइन् । यस्ता प्रकारका अभियानहरुले एकातिर स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने र अर्कोतिर घर घरमा स्थानीय सरकार पुगेको अनुभुति समेत हुने भएकोले फुसरहित घर अभियान निकै राम्रो रहेको उनको धारणा छ । पानी पर्दा ओत लाग्न गाह्रो हुने खडेरीका बेला आगोलागीबाट बचाउन धेरैलाई समस्या हुन्थ्यो टिनको छानो लगाएपछि कम्तीमा पनि पानी चुहिने र आगो लाग्ने डर हुने भएन उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत सुुन्दर प्रसाद श्रेष्ठले टिनको छानो अभियान ल्याउनुको मुख्य उद्धेश्य घरहरुको सुरक्षा भएको बताए । टिनको छानो लगाइएको घरमा पानी चुहिने र आगलागी हुने डर कम हुने भएकोले पनि जोखिम कम हुने उनको धारणा छ । गाउँपालिका भित्रका सबै समुदायलाई गरिबीबाट माथि ल्याउन, समृद्धिको यात्रा तर्फ लाग्यौ भन्ने अनुुभुति जनतालाई गराउन समेत यो अभियानले सहयोग पुर्याउने उनले बताए ।

अहिले भनेको ठाउँमा पर्याप्त खर नपाईने, पाइएपनि छाउने जनशक्तिको अभाव हुने, र छाएका घरहरु पनि धेरै नटिक्ने, छिटै चुहिने हुने र हिउँदको बेला आगलागीको बढी डर हुने भएकोले पनि टिनको छानो लगाउनुपर्ने अवस्था आएकोले यो अभियान चलाइएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।