पाल्पा भित्रिने पर्यटकको आकर्षण होम स्टे

0
466

पाल्पा । पाल्पा भित्रिने पर्यटकका लागि यहाँ सञ्चालित होम स्टे आकर्षणको केन्द्र बन्ने गरेको छ । अहिले जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका साथै सदरमुकाम तानसेनमै पनि होम स्टे संचालनमा रहेको छ । होम स्टेका कारण एकातिर पर्यटन प्रवर्धनका लागि टेवा पुगेको छ भने अर्कोतिर होम स्टे संचालनको आर्थिक समृद्धि भएको छ ।

होटल तथा लज बस्दा भन्दा होम स्टेमा बस्दा पारिवारिक वातावरणमा आफूले खोजे जस्तो स्थानीय जातका तरकारी तथा खानेकुराहरु खान पाइने भएकोले पनि अहिले होम स्टेप्रति धेरैको आकर्षण बढेको छ । तानसेन भगवतीटोलमा संचालित होम स्टेमा स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । तानसेन नगरपालिकाको सहयोगमा होमस्टे सञ्चालनबारे तालिम लिएका यहाँका महिलाहरूले २०६७ सालबाट होम स्टे सुरु गरेका थिए । अहिले ८ वटा घरमा होम स्टे संचालनमा छन् ।
होम स्टेमा हरेक कोठा चिटिक्क सजाइएका छन् । पाहुँनाले खोजे जस्तो खानेकुरा जस्तै नेपाली खाना, फापर, कोदो, मकैको रोटी, स्थानीय भटमास, गुन्द्रुक खान पाइन्छ । होम स्टेमा बस्दा प्रति ब्यक्तिको खानाको परिकार अनुसार कोठा सहित कम्तीमा १२ सय रुपियाँ खर्च हुन्छ ।

अर्कोतिर होम स्टेबाट पर्यटन प्रवर्धनसँगै आर्थिक समृद्धि समेत हुन थालेपछि बिदेशबाट फर्केका युवाहरुले समेत अहिले यो अभियान थालेका छन् । होम स्टे संचालनका लागि १ करोड बढी लगानी गरि घर बनाएका तानसेन भगवती टोलका मेघनाथ भण्डारीले भने–घरपरिवारसँगै विदेशी पर्यटक रमाउन चाहन्छन् भन्ने सुनेरै होम स्टे सुरु गर्ने सोच बनेको हो अहिले होम स्टेमा बिदेशी तथा स्वदेशी पर्यटकहरुको आकर्षण बढेको छ पाल्पा आउने विदेशी पर्यटक आफ्नै घर परिवारमा बसे जस्तै रमाइलो मानी बस्ने गरेका छन् । नेचर्स ट्रिट होम स्टे भगवतीटोलका संचालक समेत रहेका भण्डारीले भने–“होम स्टे छ भन्ने सुन्ने बित्तिकै पर्यटकहरु होटलमा भन्दा होम स्टेमै बस्नुपर्छ भन्ने मानसिकता बनाउनुहुन्छ ।”

होम स्टे संचालन भएका नेवार समुदायका घरमा बस्दा नेवारी परिकार समेत खान पाइन्छ । होम स्टेमा आउने पर्यटकहरुले नेवारी परिकार मीठो मानेर विदेशीले खाने गर्छन् । नेवारी समुदायमा तिल, भेली, चामलको पिठोबाट बनाइने योमरी, भट्ट, लसुन, अदुवा मिसाएर बनाइने स्याबाजी, विवाहमा बनाइने कसारजस्ता परिकारहरू बनाइने गर्छ । होम स्टेमा बस्न आउने विदेशीहरूले त खाना पकाउन पनि साथ दिने गर्छन् भने परिवारसँगै रमाएर खान मन पराउने गर्दछन् ।

जिल्लाको बौघागुम्हामा पनि मगर होम स्टे संचालनमा छ । यहाँ मगर संस्कृतिमा रमाउँदै मगरी परिकारहरु समेत खान पाइन्छ । रानीमहल नजिकैको यो गाउँमा पनि पर्यटकहरुको भिड लाग्ने गर्दछ । जिल्ला बाहिरबाट समेत दैनिक टोलीहरु यहाँ होम स्टेमा बस्ने र आफ्ना समूह वा कम्पनीका बैठक बस्ने गरि आइपुग्छन् । त्यस्तै दोभानको सुकेताल लगायतका स्थानमा पनि होम स्टे संचालनमा रहेका छन् । बुटवल नजिकैको गाउँमा दोभानमा रहेको यो होम स्टेमा छिमेकी जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका बिभिन्न स्थानबाट समेत पर्यटकहरु आउने गर्छन् । खासगरि तराईबाट गर्मीको समयमा गर्मी छल्नको लागि तराईबासीहरु आउने गरेको पाइन्छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।