चन्द्र माविमा हुने महायज्ञको तयारी पूरा, कम खर्चिलो रुपमा महायज्ञ भब्य बनाउने आयोजकको उदघोष

0
524

पाल्पा । चन्द्र माध्यमिक विद्यालय बगनासकाली ९ चापपानीमा यही माघ २ गतेदेखि ८ गतेसम्म संचालन हुन लागेको श्रीमद्भागवत बिराट सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । बगनासकाली गाउँपालिकाको चन्द्र माध्यमिक विद्यालयमा गाउँपालिका भित्रको पहिलो प्राविधिक शिक्षा संचालनका लागि सहयोगार्थ आयोजना गरिएको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको हो ।

शनिवार महायज्ञको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक यमलाल तिमिल्सेनाले महायज्ञ प्रभावकारी बनाउन यस क्षेत्रका वडाका घर दैलोमा पुगि निमन्त्रणा कार्ड वितरण गरिएको र रेडियो, टेलिभिजन, पत्र पत्रिका, को माध्यम माफत सुचना प्रचार प्रसारण गरिएको बताए ।। महायज्ञ मूल आयोजक समितिका महासचिव कृष्ण भुसालले विद्यालयलाई सजावट तथा अन्य कामहरु तयारी अन्तिम चरणमा पुगेको बताए । महायज्ञ प्रचार प्रसार उपसमितिका संयोजक यज्ञमूर्ति तिमिल्सिनाले महायज्ञको सफलताको लागि प्रचार प्रसारको कार्यलाई तीव्रता दिइएको बताए ।

वालव्यास पण्डित नारायण न्यौपाने मुखारबिन्दबाट संगीतमय कथा प्रवचन हुने महायज्ञमा १ करोड ५० लाख रुपैया संकलन हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् । महायज्ञलाई कम खर्चिलो गरि प्रभावकारी रुपमा संचालनको तयारी गरिएको समितिका सहसंयोजक भोजराज तिमिल्सिनाले बताए ।
समितिका अनुसार महायज्ञमा कथावाचन, १ हजार कलश सहितको कलस यात्रा, १ हजार शालिग्राम पुजन, हवन, कालसर्पयोग तथा अन्य ग्रह शान्तीहरु, माघको ३ गते सामुहिक व्रतबन्ध तथा माघ ७ गते चौरासी पूजा समेत गरिने छ । वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले वगनासकालीकै शैक्षिक हवको रुपमा चन्द्र माध्यमिक विद्यालय अगाडि लागेको बताए ।

पत्रकार सम्मेलनमा महायज्ञमा आवश्यक पर्ने अधिकांश सामाग्रीहरु स्थानीय स्तरकै प्रयोग गर्नुपर्ने, स्थानीय संचारमाध्यमको अधिकतम उपयोग गरिनुपर्ने, कम खर्च गरी धेरै रकम जटाई प्राविधिक विद्यालय संचालनार्थ लगानी गरिनुपर्ने लगायतका सुझावहरु पत्रकारहरुले दिएका थिए । पत्रकार महासंघका सदस्य नारायण न्यौपाने, अग्रज पत्रकार जगदीश भट्टराई, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, स्वतन्त्र पत्रकार संघका अध्यक्ष भोजराज भट्टराई, पत्रकारहरु बिष्णु घिमिरे, नेत्र गैरे, कमल अधिकारी, शिव बस्याल, सन्तोष बस्याल, सुमन गैरे लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रचार प्रसार उपसमितिका संयोजक यज्ञमूर्ति तिमिल्सिनाले संचालन,मूल आयोजक समितिका सह संयोजक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सेनाले स्वागत मूल आयोजक समितिका सदस्य सीता घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम मूल आयोजक समितिका संयोजक यमलाल तिमिल्सेनाको अध्यक्षतामा चलेको थियोे ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।