कागती बेचेर बार्षिक ४ लाख बढी आम्दानी

0
1250

पाल्पा । यसअघि २ मुरी मकै पनि नफल्ने बारीमा अहिले लटरम्म कागती फलेका छन् । त्यहीबारीमा राम्रो मकै फल्यो भने पनि बेच्दा ४ हजार आम्दानी लिन पनि मुस्किल हुन्थ्यो तर त्यही कागतीबाट उनले यो वर्ष मात्रै ४ लाख रुपैया आम्दानी लिइसकिन् ।

तिनाउ गाउपालिका–६, मस्यामकी गोमा भण्डारीले अहिले डाडैभरि कागती रोपेकी छन् । उनको बारीमा अहिले ४ सय बोट कागती छन् । यी बोटहरुबाट उनले यो वर्ष ४ लाख कमाइसकिन् अझै पनि बेच्न बाकी नै छ । घरमा लगाएको कागतीको बोटबाट राम्रो आम्दानी भएपछि उनले व्यवसायिक रुपमै कागती खेती सुरू गरेकी हुन् ।

बुबाले घरमा लगाएको कागतीको एउटै बोटमा लटरम्म कागती फलेको छ । घरमा तरकारी खेती गर्दै थिए तरकारी व्यापारीले तरकारीसँगै कागती खोज्न थाले । “३० वर्ष अगाडि रोपेको एउटै बोटबाट ३० हजारसम्म आम्दानी लिएं । अहिले व्यवसायिक रुपमा कागती खेती गरेकी छु ।” उनले भनिन् । जिल्लामै पहिलो पटक कागतीको व्यवसायीक रुपमा खेती गरेकी गोमालाई दायित्व अभियानले जिल्लाको उत्कृष्ट ५ महिला उद्यमीको रुपमा छनौट गरि सम्मान समेत गरेको छ । तीन वर्ष अगाडि रोपेको एउटा बोटमा ३ हजार वटासम्म फल लागेको उनले बताईन् । पहाडी जमिन भीरालो पाखो जमिन सिंचाईको समस्या लगायत धेरै समस्या भोग्दै आएकी भण्डारी अहिले भने कागती खेतीबाट मगन्ने आम्दानी हुने गरेको बताउछिन् । उनी भन्छिन्, “तरकारी खेती, फलफुल खेती अन्नबाली सबै गरियो । आम्दानी गर्न सकिएन । ससुरा बुवाले ३० बर्ष अगाडि लगाएको कागतीको बोटबाट राम्रो आम्दानी देखेर चार वटा कागतीका बेर्ना आफै उत्पादन गरेर घर वरिपरि लगाए र विचार गरे दुई बर्षमै राम्रो फल लाग्न थाल्यो । वार्षिक दुई देखि पा“च लाखसम्म आम्दानी हुने गरेको छ ।”

अहिले १० रोपनी पाखो बारीमा ४ सय वटा कागतीको आफै विरुवा उत्पादन गरेर लगाएकी छु । उनले भनिन् । एउटा कागतीको बोटबाट वार्षिक १० हजारसम्म आम्दानी लिन सकिने भण्डारी बताउछिन् । कागतीको बजार सजिलो छ । घरमै व्यापारीहरू खरीद गर्न आउने गरेका छन् । एउटा फललाई प्रतिगोटा चार रुपैयासम्ममा बिक्री गर्ने गरेकी छु । अहिले प्रतिकेजी १ सय रुपैयामा यहाको कागती व्यापारीहरूले घरमै आएर लैजाने गरेका छन् । ब्यापारका लागि समेत सजिलो भएकोले उनी थप तर्फ थप उत्साही भएकी छन् । आगामी दिनमा समेत अन्य बोटहरू पनि थप्ने योजना रहेको उनले बताइन् । बजारमा स्थानीय जातको कागतीको माग अत्याधिक हुने भएता पनि आफु एक्लैले माग पूर्ति गर्न नसक्ने गोमाले बताईन् । प्राविधिक सेवा र अनुदानका कार्यक्रमहरू सञ्चालन हुन सके नेपालमै नमुना कागती फार्मका रुपमा खेती गर्ने भण्डारीले बताईन् ।

कागतीलाई धेरै रोगका घरेलु उपचारको रुपमा लिने गरिन्छ । कागती सर्बत, जुस, अचार बनाउन पनि प्रयोग गरिन्छ । दाल तरकारीमा होस् या तातोपानीमा, कागती निचोरेर खादा स्वादिलो हुन्छ । नियमित कागती सेवनले स्वास्थ्यलाई फाइदा गर्ने चिकित्सकहरू बताउ“छन् । त्यसैले कागतीको प्रयोग बढ्दो छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।