दुखेको दिललाई शान्त पार्न साहित्य सृजनामा लागेः खत्री

0
420

गुल्मी जिल्ला मुसिकोट गाउँपञ्चायत वडा नं. ८ (हालको बसोबास ईश्मा गाउँपालिका २, महिनडाँडा) मा बुवा गोविन्दबहादुर खत्री र आमा प्रेमकुमारी खत्रीका ८ सन्तानमध्ये पहिलो सन्तानका रूपमा वि.संं २०३१ भाद्र १७ गते जन्मिएका खत्री कमल साहित्य—साधक हुन् । पेशााले शिक्षण पेशामा आबद्ध रहे तापनि खत्री कमल दर्जनौ साहित्यिक संघसंस्थाहरूमा आबद्ध छन् । साहित्यिक पत्रकारिता, साहित्य सिर्जना र समालोचना लगायतका क्षेत्रमा कलम चलाउने उनै खत्री कमलसँग हाम्रा सम्वाददाता नवराज ज्ञवालीद्धारा लिइएको अन्तर्वार्ताको सरांश ।

१.साहित्य लेखनको प्रेरणा कोबाट प्राप्त गर्नुभयो र कहिलेदेखि लेखन कार्य सुरु गर्नुभयो ?

हिमालय मा.वि हस्तिचौरमा कक्षा ८ मा पढ्दा गुरु रामप्रसाद पाण्डे र मोहन मराशिनीबाट म कविता लेखनप्रति अभिप्रेरित भएको हुँ । रेशुङ्गा क्याम्पसमा पढ्दा गुरु दीन पन्थी र शशि पन्थीबाट कविता लेखनमा अधिक प्रोत्साहित भएको हुँ । त्यही प्रोत्साहनका परिणाम हुन् मेरा कविता ।

२.कविताबाहेक अन्य विधातर्फ तपाईंकोे झुकाव खासै देखिएन नि ?

कविताबाहेक मेरो झुकाव कथा र नाटकमा छ । कथाभन्दा बढी नाटकमा छ । तर नाटक लेखनका लागि प्रशस्त समय र श्रम खर्चिनुपर्छ । वातावरण मिल्नुपर्छ । तानसेनमा कविता रचना गर्ने र वाचन गर्ने कार्य मात्र हुने भएकोले पनि म नाटक लेखन र मञ्चनतिर लागिन । अर्कोतर्फ नाटक लेखन र मञ्चनका लागि चाहिने समयको यथेष्ठता मसँग छैन र वातावरण तानसेनमा छैन । तैपनि केही वर्ष यता तानसेनमा गाईजात्रा प्रहशन समूह ,बसपार्कद्वारा प्रदर्शन गरिने गाईजात्रे प्रहशन लेख्दै आएको छु । चिरञ्जीवी ढुङ्गाना, चित्रवली रामसुवाल र किरण चित्रकारले गाईजात्रे प्रहशन लेख्न मलाई अभिप्रेरित गनुभएको हो । बन्दैबन्दको देश, टुक्का—मुक्काको देश ,कस्तो लाग्यो त ? दर्शकले अधिक रुचाएका मेरा गाईजात्रे प्रहशन हुन् । झण्डै १ वर्ष अब के हुन्छ ? नाट्यश्रृङ्खलाको लेखनमा सक्रिय रहें । श्रीनगर टेलिभिजन,तानसेनबाट यो नाट्यश्रृङ्खला हरेक शुक्रबार साँझ प्रशारण हुन्थ्यो। तानसेनलगायत आसपासका क्षेत्रहरूमा निकै प्रिय नाट्यश्रृङखला थियो यो । म पागलको भूमिकामा खेल्थें । तर पछि समयको अभाव भयो र निरन्तरता दिन सकिएन ।

३. नाटक लेखनतर्फ कसरी लाग्नुभयो त ?

डाक्टर खिमानन्द पाण्डेबाट नाटक लेखन र मञ्चनमा अभिप्रेरित भएको हुँ । गोठालोको कर्म र प्रतिबद्धता नाटक लेखी बालमन्दिर, गुल्मीमा मेरै निर्देशनमा मञ्चन गराएको हुँ । गुल्मीमा चलचित्र हल नभएको त्यस समयमा प्रतिबद्धता नाटकको एक शो का लागि रु.२२,०००। को टिकट बिकेको थियो । डा. खिमानन्द पाण्डेले त्यस समय रेसुङ्गा क्याम्पसमा पा्रध्यापन गर्नुहुन्थ्यो । उहाँले प्रतिबद्धता नाटकमा दार्शनिकको अभिनय गर्नुभएको थियो । रेसुङ्गा क्याम्पसका प्राध्यापक कुञ्जरमणि गौतम पनि नाटकको सशक्त भूमिकामा हुनुहुथ्यो । तानसेनमा आइसकेपछि डा. खिमानन्द पाण्डेले नाटक लेखन र मञ्चनका लागि बेलाबखतमा मलाई घचघचाउनुभयो । म त्रिभूवन क्याम्पसमा डिग्रीको विद्यार्थी थिएँ । उहाँ त्रिभूवन क्याम्पसको प्राध्यापक हुनुहुन्थ्यो । समय र वातावरणीय उपयुक्तताको अभावका कारण तानसेनमा नाटक लेखन र मञ्चन गर्न सकिएन । समय, साधन, स्रोत र वातावरणले साथ दिएमा तानसेनमा नाटक मञ्चन गर्ने सोच छ ।

४.पछिल्ला दिनहरूमा तपाईंको सिर्जना कार्य खुम्चिएको छ भन्छन् नि ?

यो सत्य हो । पाल्पा इन्टरनेशनल कलेजको स्थापना र सञ्चालन गर्ने क्रममा वि.सं. २०७० यताको समय यान्त्रिक ढङ्गले काम गर्दा नै बित्यो । फलतः सिर्जना कार्य खुम्चिन पुग्यो ।

५.तानसेनमा आइसकेपछिको साहित्यिक अनुभव कस्तो रह्यो त ?

मैले जेजति कविता सिर्जना गरें ती सवै तानसेनमा नै गरेकोे हुँ । गुल्मीमा रचना गरेका कविताहरू केही थिए तर हराए । कथा, उपन्यास र गोठालोको कर्म नाटकको पाण्डुलिपि नै हरायो । मैंले तिनको महत्व बुझिन र संरक्षण गरिन । जीवनको अक्षम्य भूल यही थियो । तानसेनमा आइसकेपछि डा. नेत्रप्रसाद न्यौपाने, डा. एकनारायण पौडेल, डा. शंकरप्रसाद गैरे, टंक पन्त, गणेश ज्ञवाली ,जीवनाथ तिवारी, राजेन्द्रगोपालसिंह , महेन्द्र पन्थी, चित्रवली रामसुवाल, चिरञजीवी ढुंगाना र पुस्कर रेग्मीको प्रोत्साहनमा म कविता विधामा अलिकति माझिएको हुँ । गद्य कविता लेख्न कक्षा ८ देखि सुरु गरें । तर धेरै समय र श्रम खर्चिएपछि मात्र पद्य कवितामा अलिकति निखार आएको हो ।

६. नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा के कस्तो प्रभाव पारेको छ ?

पाश्चात्य साहित्यले नेपाली साहित्यमा सघन प्रभाव पारेको अभिव्यक्ति विशिष्टहरूबाट सुनेको छु । तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यले पारेको प्रभाव अनुसन्धानको विषय हो । विनाअनुसन्धान यस विषयमा बोल्नु मूर्खता हो ।

७. साहित्यलाई जीवन दिएर पाउनुभएको अनुभव के हो ?

साहित्यलाई जीवन दिएर होइन कि साहित्यतिर लागेर मैंले अलिकति जीवनलाई भिन्न कोणबाट अनुभूत गरेको छु । जीवनलाई अथ्र्याउने साहित्यिक सिद्धान्तहरूको आडमा जीवनलाई स्वीकारेको छु । जटिलतालाई जीवनको अपरिहार्य पक्षको रूपमा बुझेको छु । जीवन र जटिलता एकआपसमा अन्तर्घुलित भएको अनुभव गरेको छु ।

८.साहित्य सिर्जनाबाट मानिसले सन्तुष्टि वा स्वतन्त्रता के प्राप्त गर्न सक्छ ?

साहित्य सिर्जनाबाट मानिसले सन्तुष्टि प्राप्त गर्छ । सिर्जनालाई माध्यम बनाई मानिस स्वतन्त्रताका लागि लड्न सक्छ । तर स्वतन्त्रता संविधान र कानुनबाट परिभाषित हुने भएकाले त्यो सीमालाई सिर्जनाले नाघ्न सक्तैन । परिभाषित स्वतन्त्रताभन्दा भिन्न आन्तरिक स्वतन्त्रताको अनुभूति साहित्य सिर्जनाबाट हुन्छ । यसका लागि स्रष्टा संयम र आत्मानुशासित हुनुपर्छ ।

९.तपाईं केका लागि साहित्य सिर्जना लाग्नुभएको हो ?

म विचलित मानसिकताको विकारबाट मुक्त हुन र संयम एवं आत्मानुशासित सिर्जनामार्फत दुखेको दीललाई शान्त पार्न साहित्य सिर्जनामा लागेको हुँ ।

१०.साहित्य लेखनमा समकालीन मित्रहरूसँग तुलना गर्दा तपाई आफूलाई कुन स्थानमा पाउनुहुन्छ ?

समकालीन मित्रहरूले जुन स्थानमा मलाई देख्नुहुन्छ त्यही स्थानमा मैंले आफूलाई पाउछु । मैंले सिर्जना स्थानका लागि गरिन र गर्दिन पनि । झिनो सिर्जनासँग ओहदाको कोटको आडमा स्थान खोज्ने, रोज्ने र रोजाउने परिपाटीको हावी भएको वर्तमान परिस्थितिमा स्थान वा श्रेणीको कुरा नउठाउँदा राम्रो हुन्थ्यो कि ?

११. नेपाली साहित्यमा प्रयोग हुँदै आएका विधाहरुलाई तपाईंले कसरी हेर्नुभएको छ त ?

नेपाली साहित्यमा विभिन्न विधाहरू प्रयोग हुँदै आएका छन् । सबै विधाहरू उत्तिकै महत्वका छन् । तर मैंले रोजेको र लेख्ने गरेको विधा कविता हो ।

१२. तपाईंले रचना गरेका सिर्जनामध्ये आफूलाई सबैभन्दा मन परेको सिर्जना कुन हो ?
मेरा सिर्जना मेरा कर्म हुन् । मेरा पसिना हुन् । मेरा स्वस्फूर्त भावावेगका सघन दर्पण हुन् । त्यसैले सबै सिजना मेरा लागि उत्तिकै समान छन् र उत्तिकै मन पर्छन् ।

१३.आफूलाई लेखक वा साहित्यकारका रूपमा उभ्याइँदा तपाईं कुनकुन कुरामा खुशी हुनुहुन्छ त ?

आफूलाई लेखक वा साहित्यकारका रूपमा यदाकदा उभ्याइँदा म खुशीभन्दा बढी दुखी हुन्छु किनकि त्यो उभ्याइँका लागि पुग्ने गरी मैंले सिर्जना गरेको र समाजलाई दिएको छैन ।

१४.साहित्यिक संघसंस्थासँग आवद्धताका बारेमा प्रष्ट पारिदिनुहुन्थ्यो कि ?

पाल्पा साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पुस्करराज रेग्मीको अध्यक्षतामा म र लक्षिमा ज्ञवाली लगायतका मित्रहरूको संयुक्त प्रयासमा स्थापना भएको हो । म त्यस संस्थाको संस्थापक महासचिव हुँ । दुई कार्यकालपछि समयको अभावले म कार्यसमितिमा बस्न सकिन । पुस्करराज रेग्मीको नेतृत्वमा यस संस्थाले पाल्पाका साहित्यिक गतिविधिमा छलाङ मारेको छ । हाल लुम्बिनी वाङमय प्रतिष्ठान, पाल्पा शाखाको उपाध्यक्ष र पाल्पा साहित्य समाजको कार्यसमिति सदस्य छु । किरण पुस्तकालयद्वारा प्रकाशित हुने हाम्रो पुरुषार्थ गुल्मीको पाल्पा प्रतिनिधिको भूमिका निर्वाह गरेको छु ।

१५.अहिलेसम्म तपाईंले सिर्जना गर्नुभएका रचनाले कुनै कृतिको रूप ग्रहण गरेका छन् कि ?

मैंले लेखेको प्रतिबद्धता नाटक किरण पुस्तकालय गुल्मीले हाम्रो पुरुषार्थमा छापेको छ । फाट्टफुट्ट फुटकर कविताहरू पत्रिकामा छापिन्छन् । तर कृति प्रकाशन गरेको छैन । जिन्दगीले भ्याएछ भने कृति प्रकाशन गर्ने सोच छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मलाई यो अवसर प्रदान गरेकोमा सर्वप्रथम त म पाल्पा समाचारपत्र साप्ताहिक पत्रिकालाई धन्यवाद दिन चाहन्छु । संयम र आत्मानुशासित स्रष्टाहरूको उत्पादन र विकासका लागि यस पत्रिकाले अहम् भूमिका खेल्न सकोस् । ओझेलमा परेका र पारिएका सष्टाहरूको पहिचान गरी उनीहरूका अभिव्यक्तिहरूलाई पाठकहरूसम्म पुराओस् मेरो शुभकामना यस पत्रिकालाई ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।