रिलिफ फार्माद्धारा भिडियो एक्सरेमा खुलेआम ठगी

0
916

पुनहरि बेल्बासे । भैरहवा
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को खिल्ली उडाउँदै भैरहवाको एक निजी औषधी पसलले जनस्वास्थ्य माथि खेलवाड गरेको पाइएको छ । भैरहवाको बुद्धचोकमा रहेको रिलिफ फार्माले यसरी जनस्वास्थ्य माथि खेलवाड गरिरहेको छ । औषधी व्यवस्था विभागमा दर्ता रहेको भनिएको उक्त फार्मेसीले औषधी पसल सञ्चालनको लागि मात्र औषधी व्यवस्था विभाग बाट स्विकृति लिएको छ । तर त्यहाँ बाट प्याथोलोजी सेवा, एक्सरे सेवा, तथा भिडियो एक्सरे सेवा पनि सञ्चालन गरी रहेको छ । एक्सरे र प्याथोलोजिमा दक्ष स्वास्थ्यकर्मी रहेको भनिए पनि भिडियो एक्सरेको लागि त्यहाँ न त रेडियोलोजिष्ट चिकित्सक नै छन् न त दक्ष स्वास्थ्यकर्मी ।

यहि भदौ १३ गते एक युवतीको भिडियो एक्सरे गराउन भनी उक्त फार्मेसीमा जाँदा उक्त तथ्य बाहिरिएको हो । पेट दुख्यो एक पटक भिडियो एक्सरे गरी हेरौँ न भनी युवतीको आफ्नै चाहना अनुरुप भिडियो एक्सरे गर्न जाँदा त्यहाँ न त चिकित्सक नै थिए नत दक्ष प्राविधिक । एकै छिनको पर्खाइ पछि एक महिला आइन् । उनी आए लगत्तै ल डाक्टर आउनुभयो भिडियो एक्सरे गर्न भित्र जानुस भनियो । भिडियो एक्सरे पनि भयो । रहस्य तब थाहा भयो जब भिडियो एक्सरेको रिपोर्ट आयो । भिडियो एक्सरेको रिपोर्ट भिम अस्पताल भैरहवाका पूर्व मेडिकल सुपरिन्टेण्डेण्ट डा. रामजी चौधरीको नाम बाट दिइयो ।

यसबारेमा उक्त फार्मेसीमा बुझ्दा भिडियो एक्सरे गर्ने ती महिला (कथित डाक्टर) को योग्यता के हो, मेडिकल काउन्सील नं. कति हो यस बारे मेडिकल सञ्चालकलाई पनि थाहा छैन । नत ती महिला सँग नै यसको जवाफ छ । भिडियो एक्सरे गर्ने महिला सँग यसबारे बुझ्न खोज्दा उनी भन्छिन मैले रेडियोलोजीमा मास्टर्स गर्दैछु, रिजल्ट आए पछि दर्ता गराउँछु तर म नेपाल मेडिकल काउन्सीलमा दर्ता छैन । यसबाट के स्पष्ट हुन्छ भने न त ती महिला चिकित्सक हुन, न त उनी सँग भिडियो एक्सरे गर्ने योग्यता नै छ ।

किन तपाईहरुले डा. चौधरीको लेटर प्याडमा रिपोर्ट दिनु भएको छ त भन्ने प्रश्नमा मेडिकल सञ्चालक महिलाले प्रति प्रश्न गर्दै मेडिकल कलेजमा भिडियो एक्सरे गर्ने को हो भनेर कसैले सोधेको छ ? त्यहाँ बाट जसले रिपोर्ट दिए पनि तपाईहरु चुपचाप बस्नुहुन्छ हामीले त के नै गरेका छाँै र इमरजेन्सी पर्दा मात्र भिडियो एक्सरे गरिदिने त होनी अनि किन हाम्रो पछाडी लाग्नु भएको छ ? भनिन् ।

रेडियोलोजिष्ट भन्दा अरुले के भिडियो एक्सरे गर्न मिल्छ त ? यसबारेमा डा. रामजी चौधरी सँग बुझ्दा रेडियोलोजिष्ट बाहेक अन्य कुनै चिकित्सकले निश्चित अवधीको तालिम लिएको छ भने बिरामीको भिडियो एक्सरे गर्न पाउने प्रचलन रहेता पनि अन्य कुनै प्राविधिक वा स्वास्थ्यकर्मीले चिकित्सकको उपस्थिति विना भिडियो एक्सरे गर्न नमिल्ने बताए । तपाईको नामको लेटर प्याड दुरुपयोग भई भटाभट भिडियो एक्सरे भइरहेको पाइएको छ नि डाक्टर साहेव तपाईलाई थाहा छ यसबारेमा ? भन्ने प्रश्नमा आफूले केही दिन अगाडि यो हल्ला सुनेको तर आफुले नदेखेको बताउँदै यसो भएको छ भने यो गलत काम हो यसलाई म रोक्नको लागि पहल गर्ने डा. चौधरीले बताए ।

उता जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य निरीक्षक मोती प्रसाद पौडेलले यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीलाई कुनै जानकारी नभएको बताउँदै त्यस्ता उजुरी आएमा अनुगमन गरी नियमानुसार गरिने बताए ।
स्रोतका अनुसार रिलिफ फार्मेसीमा आउने बिरामीको भिडियो एक्सरे गरिदिने ती महिला, डा. रामजी चौधरीकी बुहारी इन्दु सिंह हुन् । उनले आफ्ना ससुरा डाक्टर रामजी चौधरीको नामबाट भिडियो एक्सरे गर्ने र निज कै नामबाट रिपोर्ट दिने गरिरहेकी छन् ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को दफा २३ (ग) मा स्पष्ट भनेको छ ः रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता ः रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता देहाय बमोजिम हुनु पर्नेछ ः– (१) रेडियोलोजिष्ट ः मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्रमा स्नातक तह उतिर्ण गरी रेडियोलोजी विषयमा एम डी, डी एम आर डी, एफ आर सी आर वा सो सरह कोर्ष उतीर्ण गरेको हुनु पर्नेछ । (२) रेडियोलोजी एण्ड ईमेजिङ्गको रिपोर्टिङ्ग रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने साथै रेडियोलोजिकल प्रोसिड्योरहरु पनि यथासम्भव रडियोलोजिष्टले गर्ने व्यवस्था मिलाउनु पर्नेछ । त्यस्तै दफा २३ (ङ) मा अल्ट्रासोनोग्रामको प्रयोग सम्बन्धमा रेडियोलोजिष्टहरु बाहेक आप्mनो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको युएसजी तालिम प्राप्त गरेको स्त्री तथा प्रसूति रोग सम्बन्धी बिशेषज्ञहरुले गर्न पाउनेछन् भनी स्पष्ट पारेको छ ।

रिलिफ फार्मेसीमा एक्सरेको लागि चाहिने मापदण्ड पनि पूरा गरिएको छैन । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को २३ (क) अनुसार (१) एक्सरेको लागि कम्तिमा २ सय २५ स्क्वायर फिटको कोठा उपलब्ध हुनु पर्ने । (२) एक्सरे गर्ने कोठाको भित्ताको मोंंटाई (क) प्लाष्टर अफ पेरिस सहित ९ ईञ्च वा (ख) शुन्य दशमलव बीस मिलिमिटरको लिडव्यारिएर सहित ६ ईन्चको हुनु पर्ने । साथै भ्mयाल, ढोका तथा भित्ताबाट हुने विकिरणको चुहावट हुन नसक्ने गरी आवश्यक व्यवस्था भएको हुुनुपर्ने । भनिएको भए पनि मापदण्ड अनुसारको कुनै पूर्वाधार रहेको छैन । कुनै पनि सामान खरिद गरिसकेपछि उपभोक्ताले बिल लिन पाउने अधिकार रहेता पनि उक्त फार्मेसीले औषधी खरिद र भिडियो एक्सरे गरेको बिल समेत कापीको पन्नामा लेखेर दिने गरेका छन् ।
प्रचलित ऐनकानुनको खिल्ली उडाउँदै जिल्ला सदरमुकाम मै यसरी जनस्वास्थ्य माथी खेलवाड गरिनु र भिडियो एक्सरेको नाममा ठगि हुनु चिन्ताको विषय हो यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।