सानाहुंगी माविको ६३ औं वार्षिकोत्सव सम्पन्न

0
785

एवत सारु । (रम्भा) पाल्पा
सानाहुंगी माध्यमिक विद्यालय रम्भा गाउपालिका–२, फोक्सिङ्गकोटले ६३ औं वार्षिकोत्सव मनाएकोछ । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि तथा रम्भा गाउपालिका–२ फोक्सिङ्गकोटका वडा अध्यक्ष उमानसिं सारुले गुणस्तरीय शिक्षाको लागि अभिभावक, शिक्षक र विद्यार्थी बिचको समन्वय नै मुख्य पक्ष भएकोले शिक्षकलाई समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरे । उनले सिंगो वडामा भएको एक मात्र माध्यमिक विद्यालयलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक खेमप्रसाद अर्यालले शैक्षिक, भौतिक तथा आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४।७५ को ७८ लाख ९५ हजार ७३७ रुपिया बराबरको आय व्यय विवरण प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट शिक्षक कृष्णकुमार अधिकारी, देबिन्द्र गिरी तथा एवतकुमार थापालाई सम्मान पत्र, खादा तथा करुवाले सम्मान गरिएको थियो । विद्यालयमा स्थापना गरिएका विभिन्न १४ वटा शिर्षकका अक्षयकोषको व्याज रकम, शैक्षिक सत्र २०७४ मा एस ई ई उत्कृष्ट विद्यार्थी तथा अन्य कक्षाका मेधावी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक प्रबल रानाको स्मृतीमा छोराहरु गणेशबहादुर राना, ताराप्रसाद राना तथा रनबहादुर रानाले रु ३० हजारको अक्षयकोष स्थापना गरेका छन् । यसैगरि स्थानीय चन्द्रबहादुर सारु तथा दिलमाया रानाले बुबा रामबहादुर सारु तथा आमा छवी सारुको सुस्वास्थ्य तथा दीर्घायु जीवनको कामना गर्दै १८००० रुपियाको अक्षयकोष तथा चनी सरा सोमैले स्व. पति मानबहादुर सोमै स्मृतिमा रु १०००० को अक्षय कोष स्थापना गरेका छन् ।

कार्यक्रममा विद्यालयको प्रगतिको कामना व्यक्त गर्दै समाजसेवी रामबहादुर सारु, टेकबहादुर राना, ताराप्रसाद राना, शिक्षक देबिन्द्र गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । विद्यार्थीले कार्यक्रमको बिच बिचमा रमाईलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षक एवतकुमार थापाको संचालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गाहाको अध्यक्षतामा चलेको थियो ।