सोमवार गाईजात्रा, यसरी निकाल्न थालिएको थियो गाईजात्रा

    0
    1088

    पाल्पा । सोमवार देशभर गाईजात्रा निकालिदैछ । यो जात्रा विशेषतः गत वर्ष्भित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ ।

    गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ । मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ ।

    गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

    विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

    राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

    अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए ।

    गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन ।

    यो दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । पाल्पामा पनि गाईजात्रा भव्य रुपमा निकालिन्छ । फोटोः फाइल

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।