पत्रकारका लागि लैङ्गिक समता तालिम

0
795

पाल्पा । अन्तराष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको समन्वयमा पाल्पाको तानसेनमा चलेको लैङ्गिक समता तथा सुरक्षा बिषयक तालिम सकिएको छ । प्रदेश नम्बर ५ स्तरीय २ दिने तालिममा पाल्पा जिल्लाका रेडियो, टेलिभिजन, छापा माध्यम र अनलाइन मिडियामा काम गर्ने १५ जना पत्रकारको सहभागीता रहेको थियो । तालिममा सहभागीलाई सञ्चारमाध्यम देखि बिषयबस्तु उठानमा लैङ्गिक समता र फिल्ड देखि कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाका बिषयमा सहजिकरण गरिएको हो ।

सधैं अरु क्षेत्र र बिषयका बारेमा लेख्ने बोल्ने र समुदायमा हुने घटना क्रमलाई कसरी सञ्चारमाध्यममा ल्याउने भन्ने तालिम लिएका सहभागी पत्रकारले यस तालिममा सञ्चारमाध्यममा नै लैङ्गिक समता र पत्रकारले कसरी सुरक्षा अपनाउनुपर्छ भन्ने बिषयमा तालिम लिएका हुन् ।
तालिममा सहभागीले लैङ्गिक समताका बिषय उठान गर्नुका साथै आफ्नो कार्यस्थल, संगठन, र राष्ट्रका लागि लैङ्गिक समता सम्बन्धी मुद्धाहरुमा गहन छलफल गरेका थिए । तालिममा लैङ्गिक समताका प्राथमिकीकरण, बिभेदको समाधान, पत्रकारको अधिकार र अधिकार हननका अबस्था, कार्यस्थलमा आउनसक्ने लैङ्गिक दुव्र्यवहार बिरुद्ध कसरी लड्ने? र लैङ्गिक मुलप्रवाहिकरणमा लैङ्गिक बिश्लेषणका बिषयमा चर्चा गरेका थिए । त्यसैगरि तालिममा फिल्डमा सुरक्षा, फिल्डमा जादा अपनाउनुपर्ने सतर्कता, तयारी, साथमा बोक्नुपर्ने सामाग्री र फिल्डबाट सुरक्षित फर्कने सम्मको वातावरणको अभ्यासमा ज्ञान सहित प्राकृतिक प्रकोप, दंगाग्रस्त स्थलको रिपोर्टिङ्ग र नचिनेको स्थानमा जानुपर्दा अपनाउनुपर्ने तयारीका बिषयमा सहभागीले समुहगत नाटकीय अभ्यास समेत गरेका थिए ।

तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्याक्ष भरत शर्माले लैङ्गिक समताका लागि तालिम महत्वपुर्ण रहेको बताउदै पत्रकार महासंघले महिला पत्रकारलाई मिडियामा टिकाईराख्न सदैव लागेको बताए । पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान् भण्डारीले पत्रकार महिला अगाडी आउनु समतामुलक समाज निर्माणमा महत्वपुर्ण भुमिका हुने बताए । सोही अबसरमा प्रेस चौतारी केन्द्रीय सदस्य कमल तिमिल्सिना, सहभागी पत्रकार सुनिल कार्की, शान्ति अधिकारीले जिल्लामा पत्रकारका लागि लैङ्गिक समता र सुरक्षाका लागि अभियान मुलक तालिम चल्नु उल्लेखीय कार्य भएको बताए ।
सोही अबसरमा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो । तालिमका प्रशिक्षक पार्वती पाण्डेको अध्यक्षतामा चलेको समापन कार्यक्रमको सञ्चालन प्रशिक्षक सीता डोटेलले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।