सडक वर्षमै सडकमा ठूला खाल्टा, अहिल्यै यो चाला वर्षातमा के होला ?

    0
    914

    पाल्पा । शुक्रवार बिहानै पानी पर्यो । पानीले तानसेनको बजारका सडकलाई हिलाम्मे बनायो । बिहानै सडकमा पैलयात्रा गर्ने हुन् या गाडीमा । सबै जना दंग परे । तानसेन नगरपालिकाले यो वर्षलाई सडक निर्माणको वर्षको रुपमा लिएको छ तर यहाँको सडकको अवस्था भने झनै बिजोग हुदै गएको छ ।

    बर्षातको शुरुका कारण बसपार्क,आन्दोलन चोक क्षेत्रको सडक र घरहरु अस्तव्यस्त बनेका छन । मोटरवाटोमा हिलो र गिट्टीको थुप्रोले गर्दा आम जनतालाई हिडडुलमा समेत समस्या भएको छ । यहाँको सडक रोपाई गर्न ठिक्क पारेको खेत भन्दा कम छैन ।

    मर्मतको काम गर्नका लागि डोजरले सडक खनेर खाल्टाखुल्टी बनाउने ,गिट्टी खनाउने तर व्यवस्थीत नगर्दा पानीले बगाएर गिट्टी यत्रतत्र पार्दा समस्या आएको स्थानियवासी राजेश भट्राईले बताए । उनले काम गर्नका लागि खन्ने तर टुंगोमा नपुराई छोडदा नियमनकारी निकाय मौन वसेको आरोप समेत लगाए । मोटरवाटो मर्मत नहुदाँ घाम लाग्दा धुलो र बर्षातको समयमा रोपाई गर्ने जस्तो हिलो हुने गरेको उनको गुनासो थियो ।

    घरको मुनी ढल व्यवस्थापन र ठेकेदारको कामको उचित अनुगमन नहुँदा आफुहरुले सास्ती खेप्नु परेको स्थानियवासी जयराम सुवेदीले बताए । उनले ठेकेदारलाई कामको जिम्मा लगाउने तर त्यसको सहि अनुगमन नगरपालिकाले नगरेको हुदाँ यस्तो समस्या आएको बताए ।

    तानसेन नगरपालिका कार्यालयले सडक मर्मतका लागि सडक वोर्ड अन्तरगतको करिव १८ लाख ७६ हजार बजेटमा काम गर्न निर्माण कम्पनीलाई मर्मतको जिम्मेवारी दिएको प्राविधिक टिकाराम सोमैले बताए ।उनले हुलाङ्गदी, बसर्पाक,आन्दोलन चोक र टँुडिखेल क्षेत्रको मर्मतको काम समेत गर्ने भए पनि ठेकेदारले व्यवस्थीत रुपमा काम नगर्दा समस्या भएको बताए ।

    यस्तैगरि नगरपालिकाको ५नं. वडा कैलाश नगर क्षेत्रमा समेत धेरै अघिदेखी बिग्रेको सडक हालसम्म बन्न नसकेको स्थानिय राजेन्द्र लिगलले बताए । गत बर्षृ जात्राको समयमा राता रात मापदण्ड बिपरित टालटुले काम गर्दा अहिले सडक थप जिर्ण हुदै गएको उनले बताए ।

    तानसेन नगरपालिका नेपालकै तेस्रो पुरानो शहर भएर पनि हाल यस शहरका सडकहरु साँघुरा र अव्यवस्थित अवस्थामा रहेका छन् । नगरका जनप्रतिनिधिहरुले यस आर्थिक बर्षलाई सडक बर्षको संज्ञा दिएपनि तानसेनको प्रवेश द्धार बसपार्क र आन्दोलन चोकको अवस्था जोखिम रहेको र यस्तो अवस्थामा नगर सरकार मुकदर्शक भएर बसेको आरोप स्थानियवासीको रहेको छ । सडकमा चिल्लो गाडी चढेर हिड्ने मेयरलाई जीर्ण बाटोले छोयो या छोएन त्यो त थाहा भएन तर तानसेनबासीले सामाजिक सञ्जाल मार्फत नगरको आलोचना गरिरहेका छन् ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।