कुराका कुरा

0
770

– राजेन्द्र प्रसाद बस्याल

हामीहरु सुन्ने गरेका छौँ की भगवानले मानिसलाई थोरै बोल्नका लागि एउटा मुख र धेरै सुन्नका लागि दुइवटा कान दिएका छन । हामीहरु कतै साथीभाइका बीचमा वा कतै कुनै सभा समारोहमा यस्ता कुरा सुनेका छौँ । कतै मौका परे सुनाएका पनि छौँ । हामी कुरा गर्न माहिर छौँ । कुरा सुनाउन माहिर छौँ । सके आफ्नै कुरा त नसके अरुबाट सुनेका कुरा सुनाउन आतुर छौँ । जे भएपनि हामी कुरा गर्न र सुनाउन निकै सिपालु भएका छौँ । हामी वोल्ने र सुन्ने शारिरिक अंगहरुको दुरुपयोग गर्यौँ । गनुपर्ने गरेनौँ गर्नु नपर्ने गर्यौँ ।

यस प्रसंगलाई नेपालको जुनसुकै सन्दर्भमा पनि जोड्न सक्छौँ । चाहे राजनीतिका कुरामा होस,चाहे सामाजिक विकासका कुरामा होस । यसैगरी महिला, जनजाती, अल्पसंख्यक, आदिवासी, वैज्ञानिक,स्वास्थ्य, शिक्षा आदिका कुरामा हामी सुन्न र सुनाउन अत्यन्तै सिपालु छौँ । लोकतन्त्र, निरंकुशता,संघियता, एकात्मकता, अग्रगमन, प्रतिगमन जस्ता तमाम विषयहरुमा हामी नजान्ने छैनौँ । हामी अमेरीकाका कुरा होस वा म्यान्मारका, पाकिस्तानका होस वा अफगानिस्तानका, श्रीलंकाका होस वा दक्षिण अफ्रिकाका, बाराक ओवामाका कुरा होस वा नेल्सन मण्डेलाका हामी सवै कुरामा पारंगत छौ । हामीले अरस्तुका कुरा पनि जानेका छौँ भने महात्मा गान्धिका कुरा पनि । सन्दर्भ अनुसार जल, जमिन र अन्तरिक्षका कुरामा पनि हामी पछी पर्दैनौँ । किनकी हामी कामभन्दा कुरामा बढी विस्वासका साथ अडिएका छौँ ।

भाषण, सभा , समारोह, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रमहरुमा हाम्रा नेताजीहरु,समाजका अगुवाहरुवाट तपाइ हामीहरुलाई धेरै कुराहरु सुनाएका छन, सुनाइएका छन । अझ भनौँ तपाइ हामीतिर नै औँला फर्र्र्र्काएर ठुलो स्वरमा कराउँदै उनीहरुका कुरा सुनाएका छन । हामी मुकदर्शक भएर सुनिदिएका छौँ । कहिलेकाहिँ सुनाउन नपाएमा कार्यक्रमस्थलवाट मेरो मानहानी भयो भनेर वाहिर निस्केर अव देखी यसको कार्यक्रममा आउँदिन भन्ने सम्मका टिप्पणी गरेका छन । जसले हामीलाई सुनाएका छन उनीहरुलाई पनि सुनाउनेहरु छन । के गर्नु उनीहरु पनि सुन्ने र सुनाउने वर्गमै पर्दछन । अनि हामीलाई श्रोताको वर्गमा राख्न उनीहरुको बाध्यतानै भयो ।

विभिन्न वाद, सिद्धान्त, विचार, दर्शन सुनाउने विषय मात्र होइनन् । यी त मानविय जीवनका कामगर्ने विषयहरु हुन । कामका लागि आधार स्तम्भ हुन । प्रगतीका धरोहर हुन । तर दुर्भाग्य केवल यी विषयहरु सुनाउने काम मात्र गर्यौँ । कर्ममा उतार्ने कोशिस सम्म गरेनौँ । आजहामी नेपाली समाजका अधिकांस अगुवाहरु यहीमार्गमा उद्धत भएका छौँ । किनकी राज्यका वडा तह सम्मका विभिन्न समितिहरु सम्म यही रोगले समातेको छ । ब्यक्तिहरुमा पनि यही रोगले जरा गाडेको प्रष्ट अनुभवगर्न सकिन्छ । कतै रेष्टुरेण्टमा जम्मा भएर चिया र चुरोटको साथमा, कतै सुकुटी र रक्सीको साथमा, कतै चउर तथा पार्कमा वदामसंगै भएपनि वा नभएपनि आफ्ना कुरा सुनाएका छौँ । मोटरमायात्रागर्दै गर्दा संगै वसेको साथीले झर्को मानोस या राम्रो मानोस हामी सुनाउने मौकालाई गुम्न दिएका छैनौँ । किनकी यो हाम्रो एक संस्कार नै भएको छ । यो परम्परालाई निकै पारंगत ढंगले उपयोग गरेका छौँ । हामीले गर्न सकिने काम र गर्न नसकिने काम दुवैलाई कुरामै उडाएका छौ । पिँढी साँढे प्रवृतीमा चुर्लुम्म डुवेका छौँ ।

यस आलेखमा राज्यको विकास, समाजको विकास भएकै छैन केवल कुरा मात्र भयो भन्न खोजिएको होइन । मात्र कुरा धेरै भयो काम थोरै भयो भन्न खोजिएको हो । कुराले कामलाई प्रभावित गर्यो भन्न खोजिएको हो । हाम्रा नेताजीहरु, समाजका अगुवाहरु भनौँ वा हामी आफै ब्यक्ति विशेषहरु कामलाई भन्दा कुरालाई बढी प्राथमिकतामा पार्यौँ । हामी सवैलाई थाहा छ काम गर्नुपर्छ । समाजको रुपान्तरण कुरावाट होइन कामवाट हुन्छ । कामले नै राज्यको विकास, नागरिकहरुको जीवनस्तरमा सुधार गर्न सकिन्छ । आज हामी छिमेकी देशका प्रगतीलाई नजिकवाट देखेका छौँ । विश्वका प्रगती तथा नयाँ आविश्कारका वारेमा पनि परिचित छौँ । ती देशहरुले कुरा गरेर मात्र बस्ने संस्कारलाई अंगालेको भए त्यहाँ सम्म अवस्य पुग्ने थिएनन् । विकसित देशहरुको शैक्षिक विकास, राजनीतिक विकास, भौतिक विकास लगायतका विषयहरुलाई बुझेर पनि हामी यद्यपी कुरा गर्ने प्रवृतीमै अल्झिरहेका छौँ ।

संसारकै दोश्रो जलश्रोतको धनी देशका नागरिकहरु अँध्यारोमै बस्न बाध्य छन भन्दा, शुद्ध खानेपानीको अभावमा वर्षेनी नागरिकहरु मरिरहेका समाचार सुन्दा, झाडापखालाको औषधी जीवनजल सम्म नपाई अकालमा मर्नु परेका समाचारहरुले हामीहरुलाई लाजलाग्नु पर्ने हो । लाजपचाएका छौँ । राज्यको एउटा कुनामा बस्ने नागरिक जो राज्यलाई कर तिरेर म राज्यको नागरिक हुँभनेर वसेको छ ऊ जीवनजलको अभावमा मर्छ, जसले आजसम्म मोटरगाडीको अनुहार सम्म देखेको छैन । अनि राज्यको एउटा नेताजी जसलाई आफ्नै देशमा उपचारको ब्यवस्था हुँदाहुँदै विशेष विमानमा विदेशमा लगी करोडौँ खर्च गरेर उपचार गरिन्छ । यी दुवै कुराहरु सन्चारमाध्यमवाट सुनाइन्छ । गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको देख्दा प्रश्नगर्न मन लाग्छ । यी कुरा कसलाई सुनाइन्छ ? किन सुनाइन्छ ? यस प्रतिनिधी घटनाले राज्यका सचेत नागरिकहरुको मन निमोठीएर आउँछ । यसवाट राज्यले नागरिक माथी दिएको ध्यान, राज्यले नागरिकप्रति गर्ने ब्यवहार कस्तो छ भन्ने छर्लङ्गै हुन आउछ । काम नगर्ने र कुरामात्र गर्ने प्रवृतीले नागरिक अधिकार एक कुराको विषयमात्र हो भन्ने देखाएको भानहुन आउँछ । यद्यपी अव जनताहरु कुरामात्र सुन्ने र सुनाउने पक्षमा छैनन् । कुरामाविश्वास गर्नेहरु तथा कुरामात्र सुनाउनेहरुका विरुद्धमा कुनै दिन जेहाद छाड्नेछन । आँधीवेहेरी भएर निस्कनेछन । कुरामात्र सुनाउनेहरुले वेलैमा विचार पुर्यानु पर्ला त्यस्तो आँधीवेहेरीले सखाप पार्नेछ । कुरा मात्र सुनाउनेहरुका अगाडी सुन्नेहरु घट्दै जाँदा कुनै दिन सुनाउनेहरुमात्रै बाँकी रहने अवस्था आउनेछ । अनि लाज र वेइज्यतीले मुख ढाकेर हिँड्नु पर्ने समय आउनेछ किनकी अव जनताहरुले कुरा सुनाउनेहरुको चाल थाहा पाउँदैछन ।

समाज गतिशिल छ । नागरिकका सोँच र ब्यवहारहरु दिनानुदिन परिवर्तनशिल भएका छन । युवाहरु विभिन्न देशमा गएर त्यहाँका विकास र प्रगती देखेका छन, विकास र प्रगती गराएका समेत छन । गरे के हुँदैन भन्ने भावनावाट ओतप्रोत भएका छन । युवाजनशक्ति आफ्नै देशको माटोमा पसिना बगाउन तयार छन । यो वेला रेमिट्यान्सको कुरा र यसको योगदानको कुरा सुनाउँदै हिँड्ने वेला होइन । सार्वजनिक चौर तथा टुढीखेलहरुमा, विद्यालय, होटल तथा रिसोर्टहरुमा वाद र सिद्धान्तका कुरा सुनाएर जनतालाई सुन्ने र सुनाउने परम्पराको मलजलगर्दै मुर्ख वनाउने समय होइन । नेपाली आम नागरिकहरुका हातमा काम चाहिएको छ । पेटमा माम चाहिएको छ । गोजीमा दाम चाहिएको छ । काम, माम र दामको भरपर्दो ब्यवस्था चाहिएको छ । कामवाद, मामवाद र दामवाद यी तीनवटा वाद भन्दा अरुवाद अवदेखी सुनाउन छाडौँ । आजको समयमा यी वाद भन्दामाथी कुनै वाद हुन सक्दैन । किनकी कुरावादले भोको पेट भरिदैन । काम धरै कुरा थोरै गर्ने संस्कारको विकास गर्न सकेमा देश र जनताको उन्नती हुनेमा शंका गर्न सकिदैन । यी वाद लागु गर्नु आजको तड्कारो आवस्यकता हो । यसलाई मुलमन्त्र मानेर राज्यले नीति तथा कार्यक्रमहरु लागु गर्नु आवस्यक छ । यसवाट राज्यको नाम पनि संसारका सामु गर्विलो रुपमा रहनेछ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।