कक्षा ११ र १२ पढ्ने युवाले सामुहिक अदुवा रोपण गरे

    0
    1118

    पाल्पा । इन्सेकको पहलमा बेद माध्यमिक विद्यालय बगनासकाली ८ बराङ्गदीमा गठन भएको बेद युवा समूहले बरांगदीको न्यौपाने डाँडामा सामुहिक अदुवा खेती गरेका छन् ।

    युवा समूहले बगनासकाली गाउँपालिकाको सहयोगमा बरांगदीमा ३ रोपनी बारी भाडामा लिएर अदुवा रोपण गरेको छ । अदुवा रोपण कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले युवाहरुले यसरी सामुहिक खेती तर्फ लाग्नु सराहनीय भएको बताए । उनले युवा समूहलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत बताए ।

    उपाध्यक्ष सरस्वती चिदी मगरले अहिलेको युवा पुस्ता यसरी सामुहिक खेती तर्फ लाग्न निकै रामो बिषय भएको बताइन् । बगनासकाली गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष जीसीले बगनाकाली गाउँपालिकामा कृषि कार्यका लागि रामो सम्भावना रहेको बताउँदै कृषिबाट समुदाय स्तरको आय आर्जनमा बृद्धि हुने बताए । उनले उक्त अदुवा रोपण स्थललाई एउटा नमुना पकेट क्षेत्रको रुपमा अगाडि बढाइने बताए ।

    गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, बगनासकाली ८ का अध्यक्ष गणेश प्रसाद बस्याल, ७ का अध्यक्ष गुन बहादुर बुढाथोकी, वडा सदस्यहरु मिन प्रसाद न्यौपाने, रिता भट्टराई, कृषि शाखा प्रमुख सन्तोष जीसी, इन्सेक जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सना, बरांगदीका सामाजिक परिचालक दयाराज न्यौपाने, युवा समाजसेवी प्रविन भट्टराई लगायतले संयुक्त रुपमा अदुवा रोपणको सुरु गरेका थिए ।
    बगनासकाली गाउँपालिकाका कृषि प्राविधिक नारायण न्यौपानेको सहयोग लिएर युवा समूहमा आवद्ध युवाहरु र स्थानीय सहयोग ब्यक्तिहरुले दिनभरि नै अदुवा रोपण गरेका थिए । युवाहरुले अदुवा रोपणसँगै अदुवाका लागि आवश्यक छापो ब्यवस्थापन समेत गरेका छन् ।

    बेद युवा समूहका अध्यक्ष बरुण बस्यालले युवाहरुले पनि समुदाय स्तरमा रचनात्मक कार्य गरेर देखाउन सक्छन् भन्ने नमुना प्रदर्शनीका लागि युवा समूहले यस प्रकारको अभियान सुरु गरेको बताए । कक्षा ११, १२ मा पढ्ने युवाहरुले स्थानीय सरकारसितको समन्वयमा यसरी सामुहिक खेती गरिएको र यसबाट प्राप्त आम्दानीले युवा समूहले बिभिन्न रचनात्मक अभियानहरु संचालन गर्ने उनले बताए । युवा समूहले गठन भएदेखि नै बिभिन्न गतिबिधिहरु संचालन गर्दै आएको बताउँदै अध्यक्ष बस्यालले युवा समूहमा आवद्द भएर काम गर्न थालेपछि समुदायले आफूहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अनुभव सुनाए ।
    युवा समूहले यसअघि सामुहिक अदुवा खेती कसरी गर्न सकिन्छ ? भन्ने विषयमा स्थलगत तालिम समेत लिएका थिए । यो युवा समूह गठन भएपछि समुदाय स्तरमा रचनात्मक क्रियाकलापहरु संचालन गर्दै आएको छ । युवा समूहले यसअघि समुदाय स्तरमा युवा र प्रजनन् स्वास्थ्य, कृषि सम्भावना र युवा लगायतका बिषयमा अन्र्तक्रिया गर्नुका साथै यही युवाले गत फागुन महिनामा लागू औषध र यसले पार्ने प्रभावका विषयमा स्थानीय स्तरमा सडक नाटक देखाएर स्थानीय बासिन्दाहरुको मन जितेको थियो ।