सामुदायिक रेडियो मदनपोखरालाई अमेरिकाबाट ३ लाख मुष्ठिदान प्रदान

0
169

पाल्पा । अमेरिका मदनपोखरा समाजद्वारा सामुदायिक रेडियो मदनपोरा (सारेम) लाई करिब तीन लाख रुपैँया मुष्ठिदान सहयोग प्राप्त भएको छ ।

अमेरिका-मदनपोखरा समाजले मदनपोखरामा जन्मभई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट संकलित रकम दुई लाख ९२ हजार दुई सय बीस रुपैँया सारेमलाई पठाएको हो ।

अमेरिका मदनपोखरा समाजले मनिग्राममार्फत् पठाएको अक्षरेपी दुई लाख ९२ हजार २ सय २० रुपैँया मंगलबार राजेशकुमार अर्यालले सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गर्नुभयो ।

सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले रजत महोत्सवका अवसरमा मुष्ठिदानमार्फत आर्थिक सहयोग उपलब्ध गराउनुभएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, ´तन अमेरिकामा छ, मन नेपालमा छ। यो नै देशप्रतिको माया हो।`

२०५५ सालमा मदनपोखरा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ ।

यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो। सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले भन्नुभयो ´आफू विदेश भएतापनि स्वदेशको रेडियोप्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र हुन्, सबैलाई रेडियोको आशिर्वाद लागोस्।`

सामुदायिक रेडियो मदनपोखराले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तरक्रिया  गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिनुभयो ।

त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरादान अभियान सञ्चालन गर्दै आइरहेको छ।

अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि संझना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताउनुभयो । घिमिरेले भन्नुभयो ‘अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएका छौँ, अरु साथीहरूले पनि पठाउँदै जानुहुनेछ ।`

सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजत महोत्सव समारोहको आयोजना गरेको छ ।

रजत महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आउने कार्यक्रम रहेको सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका सचिव राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here