रिब्दीकोटमा अध्यक्षको तलव भत्ताबाट विपन्न परिवारको स्वास्थ्य बीमा

0
320

पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले पालिका अध्यक्षको रुपमा रहँदा पाउने तलव भत्ताको रकमबाट पालिकाभित्रका ६५ परिवार बिपन्न नागरिकहरुको स्वास्थ्य बीमा गरिदिनुभएको छ । अध्यक्ष कार्कीले निर्वाचनको समयमा नै आफूले पाउने सेवा सुविधा जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही बमोजिम उहाँले यो वर्ष म बनाउँछु मेरो रिब्दीकोट अभियान अन्तरगत स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाउनुभएको हो ।

३ हजार ५ सय रुपैयाँ तिरेपछि ५ जनासम्मको परिवारले स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्नेगरी उक्त सहयोग गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले श्रम गर्ने तर बचत नगर्ने र मदिरापान गर्ने लगायतका समस्याहरुको समाधानका लागि कार्यक्रमकै अवसरमा परामर्श समेत दिइएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने अध्यक्ष कार्कीले बताउनुभयो ।

सोही अभियान अन्तरगत बिहीवार गाउँपालिकाको सभाहलमा पालिका भित्रका श्रमिकहरुलाई पोशाक सहित सम्मान गरिएको छ । सबै वडाको प्रतिनिधित्व हुने गरी श्रमिकहरुलाई सम्मान गरिएको हो । सबै वडाबाट तथ्यांक संकलन गर्न लगाएर उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिकाभित्रका ८ वटै वडाबाट प्रतिनिधित्व हुने गरी श्रमिकहरुलाई बोलाइ सम्मान गरिएको उहाँले बताउनुभयो ।

सम्मानका लागि पालिका भित्रका ८ वडाका गरी ६४ जना श्रमिकलाई बोलाइएको थियो । ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरवस्थानका ८, कुसुमखोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मान गरिएको हो । गाउँघरमा बसेर पनि श्रम गरेर जिविकोपार्जन गर्नेहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसरी सम्मान गरिएका गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले मादक पदार्थको सेवनबाट स्वास्थ्यमा पर्ने समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा श्रमिकहरुको क्षयरोग परीक्षण समेत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले रिब्दीकोटको यो अभ्यास जिल्लामै नमुना रहेको बताउनुभयो । उहाँले नागरिक असल बन्दा परिवार र सिंगो पालिका समृद्ध हुन सहयोग पुग्ने भन्दै यस कार्यक्रमले श्रमिकहरुलाई पनि असल मार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

पत्रकार तथा प्रशिक्षक रामप्रसाद न्यौपानेले श्रम अनुसारको पारिश्रमिक पाउनु र बचत गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । प्रहरी चौकी हार्थोकका प्रहरी जवान गोविन्द किसानले मादक पदार्थ सेवनबाट हुने सक्ने जोखिम र घटनाबारे अवगत गराउनुभएको थियो । गाउँपालिकाकी रोजगार कार्यक्रम संयोजक दुर्गा पछाईले प्रधानमन्त्री रोजगार कार्यक्रम र महत्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम गाउँपालिकाका अधिकृत रुकलाल भट्टराईको संचालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here