सहकारी प्रभावः गोरू बेचेर लैनो भैसी किन्न थाले किसानले

0
247

पाल्पा । बगनासकाली गाउँपालिका–८ बराङ्दीका ६३ वर्षीय गोपी गैरेले दैनिक १० लिटर दुध बेच्नुहुन्छ । गोठमा एउटा लैनो र अर्को बर्केनो गरी २ ओटा भैसी छन् । दुध बेच्न समस्या छैन । स्थानीय बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले दैनिक दुध संकलन गरी बिक्री गर्र्दै आएको छ । यसैको फाइदा गैरेले पनि लिनुभएको छ ।

गैरेका ४२ वर्ष हलो जोतेरै बिते । ३० वर्ष हलगोरु आफै पाल्नुभयो । बेशीको स्याले खेतमा गोठ बनाएर गोरु पाल्दै आउनुभएका गैरेले गत असारमा गोरु बेचेर अर्को लैनो भैसी थप्नुभयो । “गाउँ गाउँमा हाते ट्याक्टर आएपछि जोत्न समस्या छैन । गोरू पाल्न भन्दा भैसी पाल्न ठिक ठानेर भैसी पाल्न थाले ।” उहाँले भन्नुभयो । अव बर्केनो बेचेर लैनो थप्ने तयारीमा रहेको उहाँको भनाई छ ।

४२ वर्ष अघि हलो जोत्न जाँदा दिनको ५ रुपैयाँ ज्याला आउथ्यो । त्यसै गरी यो बीचका वर्ष बिते । अहिले दैनिक १ हजार ज्याला पुगेको थियो । भैसी पाल्न थालेपछि दैनिकी पनि फेरिएको छ । आयआर्जन पनि बढेको छ । उहाँले भन्नुभयो । गैरेकी श्रीमति जदुवा सहकारीको सदस्यको रुपमा रहनुभएको छ । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले भैसीपालन किसानका लागि प्रोत्साहन तथा दुध संकलन र बिक्रीमा सहयोग गर्न थालेपछि गैरे जस्तै धेरै किसानले भैसीपालन थालेका छन् ।

११ वर्ष कतार बसेर २०७५ सालमा घर फर्कनुभएका स्थानीय ४८ वर्षीय बिष्णु प्रसाद भुसालको दैनिकी पनि सहकारीकै कारण फेरिएको छ । सहकारी मार्फत भकारो सुधार र गोठ सुधारमा ५० प्रतिशत अनुदान पाएपछि उहाँले ३ ओटा भैसी पाल्नुभएको छ । १ वर्षमा ३ हजार ४ सय २५ लिटर दुध बिक्री गरी उत्कृष्ट किसानको रुपमा पुरस्कृत भुसालले सरकारको तर्फबाट अझ केही सहयोग पाएमा भैसी थप गर्ने योजना रहेको बताउनुभयो । “बिदेशमा भन्दा गाउँमै भैसी पालेर बस्दा खुशी छु । परिवार र छिमेकीको दुखसुखमा सँगै हुन पाइएको छ । सामान्य मेहनत गर्दा पनि राम्रै आम्दानी भएको छ । ” भुसालले भन्नुभयो ।

सहकारीले भैसीपालन प्रवर्धनका साथै कुरियो, बेसार पकेट क्षेत्र बनाई काम गरेको छ । सहकारीका अध्यक्ष कृष्ण भुसालका अनुसार कृषकहरुलाई भैसी खरिद देखि दुधको वजारीकरणसम्मको काममा सहकारीले सहयोग गर्दै आएको छ । यहाँ अहिले १ सय वढी भैसीपालक कृषकहरुले व्यवसायिक भैसी पालन गरी दुध विक्री गर्दै आएका छन् । प्रति परिवार दैनिक ३ लिटर देखि १५ लिटर सम्म दुध विक्री गर्छन् ।

२०७६ साल असोजमा ३ वटा सहकारीहरुलाई एकीकृत गरि सञ्चालन गरिएको यो सहकारीले कृषि उत्पादन र वजारीकरणलाई प्राथमिकता दिँदै आएको छ । भैसी खरिद, थरी सुधार, गोठ निर्माण र सुधारमा ५० प्रतिशत अनुदान दिएपछि कृषकहरु भैसीपालनमा आर्कषित भएका हुन् ।

“हामीले भैसी पाल्ने कृषकहरुलाई खरिदमा अनुदान र ऋण मात्रै होईन, कृषि यान्त्रीकरणमा पनि सहयोग गरेका छौं ।” अध्यक्ष भुसालले भन्नुभयो । सहकारीले कृषि सामाग्रीहरू, पानी टयांकी, चाँप कटर, मिल्क क्यानहरू जस्ता सामाग्रीहरु समेत सहयोग गरी भैसीपालन व्यवसायलाई टेवा पु¥याउदै आएको छ ।

सहकारीले बराङ्दीमा डेरी र तानसेनको नारायणस्थानमा संकलन र विक्री कक्ष स्थापना गरेको छ । शुद्व दुधको नामबाट सहकारीले परिचय बनाएको छ । यहाँ दैनिक ४ सय देखि ५ सय ५० लिटरसम्म दुध संकलन र विक्री हुदै आएको छ । दुधको साथै शुद्ध घिउ र कुराउनी जस्ता परिकारहरू बनाएर सहकारीले नै बजारीकरण गर्दै आएको छ । स्थापनाको ३ वर्षमै सहकारीमा ६ सय ६२ महिला, ५ सय ९३ पुरुष गरी १ हजार २ सय ५५ जना आवद्ध भएका छन् । वार्षिक ७ करोड हाराहारीको कारोवार गर्दै आएको सहकारीले नियमित, ऐच्छिक, कारोवार, दम्पत्ती, जेष्ठ, वाल, सस्थागत, आवधिक, पर्व र युवा वचत गरि १० प्रकारका वचतहरू संकलन गर्दै आएको छ ।

सहकारीका व्यवस्थापक लक्ष्मण घिमिरेले सहकारीले कृषि र पशुपालनलाई प्राथमिकता दिदै ऋण प्रवाह गर्दै आएको बताउनुभयो । यहाँ आपतकालिन देखि दैवीप्रकोप ऋणसम्मको लगानी हुने गरेका छन् । “सहकारी भएपछि वचत र ऋणको कारोवार त हुने नै भयो, हाम्रो प्राथमिकता भनेको सदस्यहरुलाई कृषि, पशुपालन, व्यापार, व्यवसायमा प्राथमिकता दिनु हो ।”

सहकारीका सचिव कमलराज तिमिल्सेनाले भैसी पालन र डेरी संचालनको अलावा सहकारीले कुरिलो खेती देखि अकवरे खुर्सानी प्रर्वद्धन सम्मका कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो । यो सहकारी संस्थाले अदुवा व्लक कार्यक्रम संचालन गरी गुणस्तरीय अदुवाको वीउ, हाते ट्याक्टर, डिजिटल तराजु, औषधी लगायतका कृषि सामाग्रीहरू २ सय किसानहरुलाई सुपथ र सहज उपलब्ध गराएको छ । अध्यक्ष भुसालका अनुसार यहाँ व्यवसायिक कुरिलो खेती र अकबरे खुर्सानी खेती समेत गरिएको छ ।

गत वर्ष मात्रै ३६ घरधुरीका २ सय रोपनी क्षेत्रफलमा खेती गरिएको थियो जसबाट यहाँका कृषकहरुले रु ६३ लाख रुपैयाँ आम्दानी गरेका छन् । “सहकारी भनेको आम्दानी भएको रकम जम्मा गर्न ल्याउने थलो मात्रै होईन ।” अध्यक्ष भुसालले भन्नुभयो । आम्दानी गर्न सिकाउने पनि सहकारीको काम हो भनेर नै हामीले हाम्रा सदस्यहरुलाई विभिन्न पेषा र व्यवसायमा लाग्न प्रेरित गरेका छौं । उहाँले भन्नुभयो । बगनासकाली गाउँपालिकामा जम्मा ३२ ओटा सहकारी रहेका छन् । जसमध्ये २५ ओटा सहकारी क्रियाशील छन् । क्रियाशील सबैजसो सहकारीले कृषि तथा पशुपालनमा टेवा पु¥याउँदै आएका छन् । अघिल्लो आर्थिक बर्षमा पालिका अन्तरगतका सहकारीहरुलाई एकत्रित गरी बिभिन्न तालिमका कार्यक्रम संचालन गरिएको र चालु वर्षमा पनि पालिकाले सहकारी क्षेत्रका लागि ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको बगनासकाली गाउँपालिकाका सहकारी शाखा प्रमुख यादव न्यौपानेले बताउनुभयो ।

बगनासकाली गाउँपालिका अन्तरगत वडा नं १ मा ३ वटा, वडा नं. २ मा ४ वटा, ३ मा ४ वटा, ५ मा ४ वटा, ६ मा ५ वटा सहकारी दर्ता रहेका छन् । त्यस्तै वडा नं. ७ मा ५ वटा, ८ मा २ र ९ मा २ वटा सहकारी दर्ता रहेका छन् । जसमध्ये ५ वटा बहुउद्देश्यीय सहकारी संस्था छन् । अन्य सहकारीहरु बचत ऋण सहकारी, महिला सहकारी, कृषि अदुवा तथा कफी सहकारी रहेका छन् ।

बगनासकाली गाउँपालिकाकाले भैसीपालक किसानलाई अघिल्ला वर्षहरुदेखि नै प्रोत्साहन गर्दै आएको छ । पालिकाले किसानका लागि दुधमा प्रति लिटर ५ रुपैयाँ अनुदान दिने गरेको छ । यसले पनि किसानहरुलाई केही न केही भएपनि राहत मिलेको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । “बराङ्दी, चापपानी, खानीगाउँका किसानहरुले केही वर्षअघिसम्म पनि बिहान सबेरै दुध दही बेच्न तानसेन पुग्थे । अहिले गाउँमै सहकारी संचालन भएपछि किसानहरुलाई थप सहजता भएको छ । मान्छेले बोकेर तानसेन ल्याउनुपर्ने समस्या टरेको छ, गाडीले बजारसम्म पु¥याउँछ । बजारका मानिसहरुले बराङ्दीको दुध किन्नका लागि लाइनमै बस्ने गरेको छु । यो गौरवको विषय हो ।” उपाध्यक्ष पाठकले भन्नुभयो ।

तस्बिरः बिष्णु तिमिल्सेना

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here