एकै व्यक्तिद्वारा ३५ सय बढी लौरो बितरण

0
248

पाल्पा । गत अप्रिल–१५ का दिन दुबईमा झण्डै ७२ करोडको चिठ्ठा हात पार्नुभएका बगनासकाली–२ पोखराथोकका पदम रानाले चिठ्ठाबाट प्राप्त रकममध्ये केही रकम सामाजिक सेवामा खर्चनुभएको छ ।

उक्त उक्त रकमबाट बिभिन्न बिद्यालयमा अक्षयकोष स्थापनाका साथै गरिव बिपन्न तथा बिरामीहरुलाई सहयोगका साथै बगनासकाली गाउँपालिका भित्रका जेष्ठ नागरिकलाई लौरो बितरण गर्नुभएको छ । हालै बगनासकाली गाउँपालिका अन्तरगतका सबै वडाहरुमा पुगेर उहाँले जेष्ठ नागरिकलाई लौरो बितरण गर्नुभएको हो ।

उहासँगै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टीका बहादुर थापा सहित जनप्रतिनिधिहरू पनि वडा वडामा पुगी लौरो वितरणका साथै उहाँहरुको समस्याबारे पनि जानकारी लिनुभएको थियो । यसरी लौरो पाउँदा जेष्ठ नागरिकहरु खुशी भएका छन् ।बगनासकाली–३ नायरनम्तलेसकी ९२ वर्षीय सुर्य कुमारी कुवरले लौरोसँगै न्यानो कपडा पाउँदा खुशी भएको सुनाउनुभयो ।

रानाले वृद्ध वृद्धालाई लौरो मात्र होइन मृगौला पीडित, क्यान्सर पीडित,अति गरिब परिवारलाई रूपैयाँ २५ हजारका दरले आर्थिक सहयोग समेत गर्नुभएको छ । रानाले आफू सानो छँदा हजुरआमाको लागि बुढेसकालको साहाराको रुपमा जंगलमा लौरो बनाउँदा हात काटेको थियो । त्यहि दिनदेखि आफूले जेष्ठ नागरिकलाई केही न केही रुपमा लौरो बितरण गर्दै आएकोमा यसपटक बृहत रुपमा गरेको बताउनुभयो । सानो उमेरमा आर्थिक अभावका कारण शैक्षिक ज्ञान हासिल गर्नबाट बञ्चित भएका राना पैसा कमाउनका लागि भारत र दुबईमा पुग्नुभयो ।

दुबईमा सवारी चालकको रूपमा काम गर्दै आउनुभएका रानाले हरेक मानिसले पैसा कमाउँछ तर त्यसरी कमाएको पैसा सामाजिक क्षेत्रमा पनि खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा महत्वपुर्ण हुने बताउनुभयो । उहाले बगनासकाली गाउपालिका र तानसेन नगरपालिका विभिन्न विद्यालयमा शैक्षिक अक्षयकोष स्थापनासँगै बालवालिकालाई झोला, कापी कलम वितरण पनि गर्दै आउनुभएको छ । कुनै पनि बालवालिका आर्थिक अभावको कारण पढाईबाट बञ्चित हुन नपरोस भनी आफूले केही न केही रुपमा भएपनि सहयोग गर्दै आएको उहा“ले बताउनुभयो ।

उहाँले आफूले कक्षा ३ देखि कक्षा ६ सम्म अध्ययन गरेको सिद्वि माध्यमिक विद्यालयमा बगनासकाली ३ आर्यभञ्ज्याङ्मा ८ लाख ८८ हजार ८ सय ८८ रकमको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट पढ्ने इच्छा भएर पनि आर्थिक अभाव भएर बीचमै पढाई छाड्ने विद्यार्थीको लागी केन्द्रित रहने छ । रानाले अधिकांश कुमाल समुदायका बालवालिकाले अध्ययन गर्ने जनता प्राथमिक बिद्यालय बगनासकाली–२ पोखराथोकमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभयो । त्यस्तै बिद्यालयका ६० बालबालिकालाई झोला र विद्यालयमा अध्यनरत फरक क्षमताका बालकलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभयो । उहाँले विष्णु माध्यमिक विद्यालयमा ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । दमकडा माध्यमिक विद्यालयका दृष्टि विहीन बिद्यार्थीलाई भोजनदान सहित १ लाख ५ हजार ५ सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गर्नुभयो ।

वडा नं ४ खानीछापको हिमाल प्राथमिक विद्यालयमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना र ४० जना विद्यार्थीलाई झोला वितरण गर्नुभयो । रानाले सोही वडाको हिमालय आधारभुत विद्यालयमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष र विद्यार्थीलाई ७० वटा झोला वितरण गर्नुभयो । आफु सानो छदा आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएकोले शिक्षा आर्जन गर्नबाट कोही पनि बञ्चित नहोउन् भन्ने मान्यताले आफूले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here