बगनासकालीको सामाजिक सुरक्षा भत्ता इएफ्टीमार्फत

0
92

पाल्पा । बगनासकाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण थालेको पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले जानकारी दिनुभयो ।

‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइएको छ । सम्झौता गरिएको नेपाल बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइएको भट्टराईले बताउनुभयो । यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब गाउँपालिकाले पैसा पठाउनेछ । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गाउँपालिकाले ३१५५ लाभग्राहीलाई जम्मा ३ करोड १२ लाख ६८ हजार बयानब्बे रुपैया ‘इएफ्टी प्रणालीमार्फत वितरण गरेको हो ।

दोस्रो त्रैमासिकमा गाउँपालिकामा जेष्ठ नागरिक ६८ वर्षमाथि १९२० जना, जेष्ठ नागरिक दलित १३७, जेष्ठ नागरिक एकल २९७ जना रहेका छन् । यसैगरी विधवा आर्थिक सहायता ४२४ जना, पूर्ण अपाङ्गतातर्फ ४७, ख वर्ग आर्थिक सहायता १०८ र दलित बालपोषणतर्फ २२२ जना रहेको पालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले सवैभन्दा अगाडि सामाजिक सुरक्षा भत्ता वितरण अगाडि बढाएको छ । गाउँपालिकाले विगतदेखि वडातहमा पुगेरै सामाजिक सुरक्षा भत्ता वितरणलाई समेत अगाडि बढाउँदै आएको छ । गाउँपालिका स्रोतका अनुसार ‘इएफ्टी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री, छिटोछरितो र सहज सेवा पाउन सक्नेछन् । विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने पालिकाले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here