सम्पादकीयः तानसेन खानेपानी नयाँ समिति नयाँ कार्यभार

0
217

तानसेन खानेपानी उपभोक्ता समितिले पूर्णता पाएको छ । लामो समयदेखि अध्यक्ष बिहीन अवस्थामा रहेको यो समितिले पूर्णता पाउदा तानसेनका खानेपानी उपभोक्ताहरुमा नयाँ आशा पलाएको छ । यसअघिको तदर्थ समितिमा रही छोटो समयमा राम्रो र प्रभावकारी काम गरेका ब्यक्ति मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिमा पुराना र अनुभवी सदस्य पदाधिकारीहरु रहेका छन् । खासगरी खानेपानी समितिको नाममा दलीय भागभण्डा भएकोबारे सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । तर राजनीतिक दलहरुले भने तानसेनको खानेपानी समस्या समाधानका लागि सबै राजनीतिक दलहरुको साथ समर्थन आवश्यक रहेको र एउटा दलले मात्रै यहाँको खानेपानी समस्या समाधान गर्न नसक्ने भएकोले तानसेनका जनताको साझा हितका लागि दलहरू एकै ठाउँ उभिएको तर्क गरेका छन् ।

हुन त यसअघि पनि दलीय भागभन्डाकै आधारमा समितिमा पदाधिकारी सदस्यहरू चयन भएका थिए । लामो समय पदमा रहेर पनि अघिल्लो समितिले खास काम गर्न सकेन । उपभोक्ताहरुको माग भएपनि धारा दिन सकेन । जसले उपभोक्ताको पानी खान पाउने अधिकारको कुण्ठित भयो । अर्कोतर्फ जोडिएका धारामा पनि पर्याप्त पानी दिन सकेन । मेसिन बिग्रदा पन्ध्रौ दिनसम्म तानसेनबासीलाई काकाकुल बनाइयो । नया मुलको पहिचान र समानुपातिक पानी बितरणमा अघिल्लो समितिले खास प्रभावकारी रुपमा काम गर्न सकेन ।

अहिलेको समितिबाट उपभोक्ताहरुमा धेरै नया आशा छ । यो समितिले खास धेरै काम गर्नु पर्दैन । सामान्य २, ४ वटा मात्रै काम गर्न सके पनि पर्याप्त हुन्छ । पहिलो कुरा तानसेनका लागि आवश्यक पानीको लागि मुलहरुको पहिचान र ब्यवस्थापन हो । तानसेन नजिक र तानसेनमा पानी ल्याउन सकिने मुलहरुको पहिचान र ब्यवस्थापनमा समितिले ध्यान दिनुपर्छ । त्यस्तै तानसेनका स्थानीय मुल र सार्वजनिक धाराहरुलाई पनि ब्यवस्थित गरी मिलेसम्म दिउँसोमा पनि र नमिलेमा रातिको समयमा भएपनि पानी संकलन गरी स्थानीयलाई वितरण गर्न सकिन्छ । तानसेनमा खानेपानीको बितरण समानुपातिक छैन ।

अर्कोतर्फ पानी बितरण तालिका छैन । यसका लागि खानेपानी बितरण समानुपातिक बनाउने र उपभोक्ताहरुलाई घरमा धारा आउनुभन्दा १ घण्टा अगाडि मोवाइलमा एसएमएस वा धारा आउनेबारेको जानकारी दिन सकिन्छ । यसो भयो भने धारा आउछ कि भनेर उपभोक्ताले अन्य काम बिगारेर धारा कुरेर बस्नुपर्ने समस्या टर्छ । पानीका पम्पहरू बिग्रदाको समयका लागि अर्को बिकल्प तत्काल हुने गरी ब्यवस्थापन गर्ने, पानीको आपूर्ति अनुसारको महसुल दर बैज्ञानिक बनाउने, उपभोक्ताले माग गरेको समयमा धारा उपलब्ध गराउन सक्ने हो भने तानसेनको खानेपानी समस्या समाधानमा केही सहयोग पुग्छ । नत्र धारा छ पानी आउदैन । घर बनायो लामो समय धारा पाइदैन भन्ने समस्या सधै रहीरहन्छ । तानसेनमा मानिसहरुको आकर्षण नहुनु र बसाइँसराई बढ्नुको मुख्य कारण नै खानेपानी हो । खानेपानीको उचित ब्यवस्थापन हुन सके तानसेनमा मानिसहरुको चलहपहल र आकर्षण त्यसै बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here