नेतृत्व त्रैमासिक सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

0
228

पाल्पा । पाल्पाबाट प्रकाशन हुँदै आएको त्रैमासिक नेतृत्वको सार्वजनिक तथा परिचर्चा कार्यक्रम रम्भा गाउँपालिकामा सम्पन्न भएको छ ।

नेतृत्व मिडिया प्रालिको आयोजना तथा रम्भा गाउँपालिकाको आतिथ्यता र सहयोगमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल लगायतका अतिथिहरुले पत्रिकाको सार्वजनिक गर्नुभएको थियो । सोही अवसरमा पत्रिकामाथि समीक्षात्मक टिप्पणी डा. टंकप्रसाद पन्थले गर्नुभएको थियो । उहाँले पत्रिकाले विविध प्रकृतिका सामग्रीहरू समेटेको र खोजमूलक सामग्रीहरू रहेको उल्लेख गर्नुभयो । विभिन्न सङ्घर्ष र अनुभवबाट खारिएर सफल बनेका व्यक्तिका कथाहरू पत्रिकामा समेटिएका छन् । विविधतालाई समेट्नु अनि सबै क्षेत्रलाई समावेश गर्नु पत्रिकाको विशेषता रहेको पाइयो उहाँले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले नेतृत्व पत्रिकाले इतिहासदेखि नेतृत्वको मर्मलाई पछ्याउँदै आएको विचार व्यक्त गर्नुभयो । नेतृत्व गर्नेहरूलाई पनि पथप्रदर्शन गर्ने काम नेतृत्व र मूलतः गोविन्द भट्टराईले महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रकाश पार्नुभयो । हिजोको रम्भा, रामपुर क्षेत्रको अवस्थादेखि वर्तमानको परिस्थितिलाई झल्काउनुभयो ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले छापा मिडियाको महत्त्व घट्दै गएको अवस्थामा पनि गोविन्द सरले पत्रिकालाई निरन्तरता दिएकोमा बधाई प्रकट गर्नुभयो । रम्भा गाउँ पालिकाले केही नमुनाका काम गरेकोमा बधाईसमेत व्यक्त गर्नुभयो । वास्तवमै श्रमजीवीको पहिचानलाई गोविन्द भट्टराई सरले प्रस्तुत गरेको सन्दर्भ पनि उहाँले जोड्नुभयो । युवा कर्मचारी पनि भोलिको असल नागरिक बन्नुपर्ने प्रेरणा पनि दिनुभयो । पत्रिका वास्तवमै अभिलेखका रूपमा रहने विचार उहाँले प्रस्तुत गर्नुभयो ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले नेतृत्व पत्रिकाको सफलताको शुभकामना व्यक्त गरी गोविन्द सरको क्रियाशीलताको प्रशंसा गर्नुभयो । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले नेतृत्वसँग सँगसँगै हिँडेको अनुभूति भएको सन्दर्भ उल्लेख गर्नुभयो । पालिकाको आतिथ्यता र सहयोग सबै पत्रकारहरूका लागि नै महत्वपूर्ण रहेको बताउनुभयो ।

गाउँले देउराली पाल्पाका सम्पादक रामप्रसाद अर्यालले नेतृत्वले ल्याएका सामग्रीहरू पठनीय रहेको र गाउँको विकासलाई लक्षित गरिएको कुरा व्यक्त गर्नुभयो ।

उपप्राध्यापक सन्तोष खनालले नेतृत्व पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्दै वर्तमानको आर्थिक अवस्थाको झलक प्रस्तुत गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै स्वागत रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले गर्नुभएको थियो ।

पत्रिकामा प्रथमपटक लेख प्रकाशित गर्ने गजलकार अनिपाल कार्की र साहित्यकार गणेश नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा अनिपाल कार्कीले देउडा भाकाको गजल प्रस्तुत गर्नुभयो । गणेश नेपालीले शुभकामना मन्तव्यका साथै गजल वाचन गर्नुभयो ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय तहले गर्दै आएका कामहरुको प्रचार प्रसारमा पत्रपत्रिकाले ठूलो सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नेतृत्व पत्रिकाले रम्भा यसरी कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक गोविन्द भट्टराईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here