मोहनकन्या माविमा अनुशिक्षण

0
495

गोपाल प्रसाद वश्याल । पाल्पा
तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा शिक्षक एवम् विद्यार्थीहरूका लागि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पुल्चोक इञ्जिनियरिंग क्याम्पसका कम्प्युटर विभाग प्रमुख डाक्टर सुरेन्द्र श्रेष्ठले शिक्षकहरूसँगको प्रस्तुतिमा कक्षाशिक्षणमा विद्यार्थीको सिकाइ उपलब्धि, विद्यार्थीप्रतिको हेराइ, विषयवस्तुलाई विद्यार्थीका दैनिक जीवनसँग जोडेर स्पष्ट धारणा दिनुपर्ने पक्षहरू, विद्यार्थी मनोविज्ञानका पक्षलाई ध्यान दिंदै विद्यार्थीको सिकाइ तथा ब्यवहारको सूक्ष्म अध्ययन गरी सोही अनुसारको सिकाइ सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले विशेषगरी कम्प्युटर, विज्ञान, गणित, नेपालीजस्ता विषयका विषयवस्तुका ब्यवहारिक पक्षसँग जोड्न सकिने उदाहरणसहित बताउनु भयो । त्यसैगरी मानिसका खाद्य ब्यवहार, साँस्कृतिक परम्पराका विविध पक्षलाई विज्ञानसम्मत र प्रमाणिक आधारमा जोडेर सिकाउनुपर्ने बताउनुभयो ।

विद्यार्थीहरूसँगको प्रस्तुतिमा डा. श्रेष्ठले कम्प्युटर सि प्रोग्रामिंगको सचित्र प्रस्तुति दिंदै गणित विज्ञान, नेपाली लगायत विषयमा विषयवस्तुलाई आफूसँग जोडेर बुझ्न सकियो भने सिकाइ प्रभावकारी हुने बताउनु भयो । हरेक विद्यार्थीले हरेक पाठमा दिइएका विषयवस्तुमा आफ्नो स्थान खोज्नु आवश्यक भएको बताउनु भयो । त्यसैगरी कक्षाशिक्षणका क्रममा शिक्षकलाई पटकपटक प्रश्न सोधेर प्रष्ट हुन प्रेरित गर्दै विद्यार्थीले सामाजिक साँस्कृतिक परम्परागत पक्षहरूलाई प्रमाणिक आधारमा र प्रमाण नपुगेको अवस्थामा अरुको विचारलाई कदर गर्दै सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीका आहारविहार, महिनावारीजस्ता जैविक क्रियाहरू र मनोवैज्ञानिक असरका कारण विद्यार्थीमा हुने अप्ठ्याराहरूलाई चिन्ने र चिर्दै अध्ययनलाई उत्कृष्ट बनाउन प्रेरित गर्नुभयो । उहाँले ग्रेड शिटको उपलब्धि खास ठूलो कुरा नभए पनि ब्यवहारिक जीवनमा सफल हुनका लागि पढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा डा. श्रेष्ठले शिक्षक एवम् विद्यार्थीहरूले राखेका जिज्ञासाहरू समाधान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवाली र शिक्षक गोपाल प्रसाद वश्यालले धन्यवाद ज्ञापन गर्दै विद्यालयले आगामी दिनहरूमा समेत यसप्रकारका विविध विषयमा छलफल अन्तरक्रिया गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here