पर्यटकलाई लोभ्याउँदै रानीमहल

    0
    2253

    पाल्पा । पाल्पा आइपुगेका आन्तरिक तथा पर्यटक जो कोहीले पनि पहिलो रोजाई रानीमहललाई नै बनाउने गरेका छन् ।
    तानसेन नगरपालिका बौघागुम्हा स्थित कालीगण्डकी किनारमा रहेको रानीमहल पछिल्लो समय पर्यटकहरुका लागि आर्कषणको केन्द्र बन्न पुगेको छ । प्रेमस“ग जोडेर भारतको आग्राको ताजमहलसग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरवारको धीरशमशेरका छोरा एवं पाल्पा गौंडाका तत्कालीन तैनाथवाला र पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारी देवीको वि.स. १९४९ मा पाल्पामै रहेको वेला निधन भए पछि उनकै सम्झनामा निर्माण गरेका थिए ।
    वि.स. १९४९ मा शिलान्याश भई वि.स. १९५४ मा उक्त दरवारको निर्माण कार्य सम्पन्न भएको थियो । उक्त दरवार निर्माण कार्य सम्पन्न भएपछि दरवारमा आकर्षक फर्निचर एवम् सजावटका सामग्रीहरु राखिएको थियो । दरवार निर्माण कार्य सम्पन्न भएपछि त्यही दरवारमा रात बिताउने गरेका खड्गसम्सेरले प्रायः जसो रातीको समयमा आफ्नो दिंवगत श्रीमतिको सम्झनामा चिच्याउने गरेको पुरानो भनाई छ ।

    आधुनिक युवा पुस्ताले यस दरवारलाई एउटा नमुना प्रेमको प्रतिकको लिँदै आएका छन् । दरवारको भित्तामा कालो अक्षरले आफूले चाहेको ब्यक्तिको नाम थर लेखेमा आफ्नो प्रेम प्रसंग सफल हुन्छ भन्ने विश्वासमा दरवारको भित्तामा नाम लेख्नेहरुको समेत होडबाजी चल्ने गरेको पाइन्छ । पछिल्लो समय दरवारको संरक्षणका लागि एक जना हेरालुको ब्यवस्था गरिएपछि दरवार परिसरमा लेख्न र फोहर गर्न मनाही गरिएको छ ।

    जिल्ला सदरमुकाम तानसेनबाट १३ कि.मि. उत्तरमा कालीगण्डकीको तिरमा रहेको भिरालो चट्टानमा रानीमहल बनेको छ । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । बराङदी खोला र कालीगण्डकीको संगमस्थलमा रहेको सो दरवारमा पुग्न तानसेन बजारबाट करिव ३ घण्टा पैदल ओरालो हिंड्नु पर्छ । अहिले रानीमहलसम्म बाटो बनेपछि नियमित गाडी समेत चल्न थालेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको सोे दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बा“ध्ने तवला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् ।

    पाश्चात्य कलाकौशल प्रयोग गरी निर्मित रानीमहल समेत भनेर चिनिने सो भव्य दरबारको ऐतिहासिक एवं पर्यटकीय महत्व रहेको छ । तेज कुमारीको सम्झनामा निर्माण भएको हुनाले रानीमहललाई “तेजमहल” पनि भन्ने गरिन्छ ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।