खानीछापको तीन छाँगा पर्यटकीय गन्तव्य बन्दै

0
683

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित तिनछाँगा छहराले पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाउन थालेको छ । यो झरनाको प्रचारप्रसारसँगै यहाँ पुग्ने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ । केही वर्षअघिसम्म पनि यो झरनाबारे कुनै प्रचार थिएन त्यसकारण पनि भरना ओझेलमा रहेको थियो ।

ऐतिहासिक खानीछापः
जमिनको गर्वभित्र विभिन्न प्रकारका धातुहरुको भण्डार रहेकाले ती क्षेत्रहरुको नामको अगाडि वा पछाडी खानी शब्द जोडिएर आएको पाइन्छ । खानीछाप पनि खानीहरुले सम्पन्न स्थान हो । खानीछापका गोमान्दी लगायत त्यसक्षेत्रका धेरै ठाउँमा फलाम खानी रहेको र खानीडाँडा लगायतका क्षेत्र वरीपरी तामाखानी रहेकाले समग्र त्यस क्षेत्रलाई नै खानीछाप नामले चिनिन्छ । २०४७ साल पछि खानीछाप गाविस हुदै हाल बगनासकाली गाउँपालिकाको ४ नंं वडामा समाहित भएको छ । गुरु वशिष्ठ ऋषिले तपस्या गरको पर्यटकीय हिसाबले ज्यादै महत्व राख्ने तीन छाँगा (तीन झरना) यसै वडाभित्र पर्दछ । गरु वशिष्ठ ऋषिले तपस्या गरेकै कारण गुरुवाखोला हुँदै गुडुवाखोलामा रुपान्तरित हुन गएको स्थानीय जानकारहरू बताउँछन् ।

धेरै मगरजातीहरुको बसोबास रहेको यस वडामा ब्राम्हण क्षेत्री र दलित जातीहरुको समेत बसोबास रहेको छ । यस वडामा स्थानीय बासिन्दाको आस्थाको आधारमा विभिन्न देवी देवताका मन्दिर तथा मूर्ति रहेका छन् । यी देवालयहरुमा बिशेष दिन तथा पर्वहरुमा पूजाआजा हुने गरेका छन् । तीनछाँगा भोवरी रह तथा चमेरे गुफा गुडुवाखोला सिमसार क्षेत्र हुन् । यसैले यस क्षेत्रमा अन्यत्र भन्दा धेरै प्रजातीका चराचुरुंगी तथा पशुपंछीहरू पाइन्छन् ।

पर्यटक पुग्न थाले तीन छाँगा झरनामा
४४ औं विश्व पर्यटन दिवशको अवसरमा तिनछाँगामा बिबिध कार्यक्रम सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको आयोजनामा भएको तीनछाँगा झरनाको अवलोकन र पद यात्रा गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पा पर्यटनको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँले तीन छाँगा छहरालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न सकिने बताउनुभयो । उहाँले बगनासकालीभित्र पनि धेरै पर्यटकीय गन्तव्य रहेकोमा यी गन्तव्यहरुको उचित प्रवर्धन गर्दै प्रचार प्रसार आवश्यकता रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले तीन छाँगालाई ब्यवस्थित गर्न पालिका लागिपर्ने बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा यस क्षेत्रको प्रधर्वनका लागि सम्बोधन गरिने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले गाउँपालिकाले नयाँ र नवीनता काम सँगैं पर्यटन क्षेत्रलाई ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । पर्यटन व्यवसायी तथा नेकपा एमाले पर्यटन विभाग पाल्पाका प्रमुख धनीश्वर बस्यालले तिन छाँगा एकै स्थलका सुन्दर तिन झरनाहरू लाई पर्यटकिय गन्तव्यको रूपमा विकास गरि सो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रूपमा ग्रामीण भेगमा पर्यटनको पहुच पु¥याई समृद्धिको यात्रा तय गर्न सकिने बताउनुभयो । उहाँले यस्ता झरनाहरुले देश बिदेशका पर्यटकहरुको मन जित्ने भएकोले उचित प्रचारप्रसारको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेल, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, वडा नं. ३ का अध्यक्ष एवम् प्रवक्ता टीकाबहादुर थापा, वडा अध्यक्ष जित बहादुर थापा, तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष वामदेव बस्याल, नाटाका अध्यक्ष राजिव साह, प्याब्सनका केन्द्रीय सदस्य भरत न्यौपाने,प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य सहित पदाधिकारीहरू, वडा सदस्यहरू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here