प्रतिभा संगम कार्यक्रम सम्पन्न

0
332

गोपालप्रसाद बस्याल । पाल्पा
वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाको आयोजनामा प्रतिभा संगम कार्यक्रम आज मोहन कन्या मा. वि. तानसेन, पाल्पामा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिवार गरिंदै आएको यस कार्यक्रममा १४ जना साहित्यकारहरूले विभिन्न विधा र भावमा आधारित रचना वाचन र पुस्तक वार्ता प्रस्तुति गर्नु भएको थियो ।

प्रतिष्ठानका संस्थापक महासचिव गोविन्द भट्टराईले प्रतिष्ठानको इतिहास र गतिविधिमाथि प्रकाश पार्दै यसले प्रतिभा संग्रह प्रकाशन, प्रतिभा संगम कार्यक्रम सञ्चालन, साहित्यिक एवम् स्वास्थ्यका क्षेत्रमा गोष्ठी, पुरस्कार सम्मान अर्पणजस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले तानसेन शीर्षक कवितामा तानसेनको ऐतिहासिक गौरवको स्मरणमा मात्र रहेको र वर्तमानमा तानसेनको विकास गफमा मात्र सिमित भएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

त्यसैगरी साहित्यकार महेन्द्र पन्थीले अब त नयाँ कविता लेख्ने गर शीर्षक कवितामा मानिसका खास भावनाभन्दा समसामयिक बजार हल्लामा केन्द्रित हुने गरेकाले कवितामा हृदय नबोलेकोमा कविता नुन वीनाको तरकारीजस्तो भएको बताउँदै अब नालापानीको इतिहास मात्र नभएर कालापानीको भविष्य पनि लेख्न आग्रह गरे । छन्द लयमा कवयित्री लक्षिमा ज्ञवालीले आमा आँचल हुन् शीर्षकको कवितामा आमाको महिमा र महत्व अनि उनको सन्तानप्रतिको कर्तब्य र मायाको ब्याख्या गरिन् । अर्का छन्द कवि कमल खत्रीले तानसेन शीर्षक कवितामार्फत तानसेनको सौन्दर्य, सम्पदा तथा गौरवको सुन्दर ब्याख्या गरे । हाइकु लेखनका अभियन्ता कवि धातानन्द गैरेले मानिसका चेतना र बाध्यताका विवशतालाई उजागर गर्दै आशा, जीवन यथार्थलाई गम्भीरतासाथ प्रस्तुत गरे । उनले साउन महिनासम्बन्धी कविता र गाउँको सुन्दर घर कवितामा बसाइसराइका कारण ग्रामीण वस्तीको उजाड र खिन्न मनस्थितिलाई खोतलेका थिए ।

कार्यक्रममा कवि नारायण प्रसाद अर्यालले पञ्चचामर छन्दमा नेताहरूका कुकर्मले परिवर्तनले मानिसहरूलाई करको भारी र साँस्कृतिक विग्रहका चोटहरू थपेका दृष्टान्त दिए । यस्तै अर्का कवि रामप्रसाद अर्यालले गजल प्रस्तुत गर्दै देशमा ब्याप्त दुष्कर्म र विकृत कार्यहरूको चिरफार गरे । त्यसैगरी कार्यक्रममा साहित्यकार विन्दु के. सी. ले सन्नाटा शीर्षकको लघुकथा सुनाउँदै समावेशीका नाममा जातीय आधार लिइएकामा गरिव र सिमान्तकृत ब्यक्तिहरू मर्कामा परेको पक्षलाई ब्यंग्यात्मक निष्कर्षकासाथ प्रस्तुत गरे । कार्यक्रममा गुलेली ब्यंग्यात्मक कविता प्रस्तुत गर्दै अभियन्ता रोहित ज्ञवालीले राजनीतिक विकृति र विसंगत क्रियाकलापको उछितो काढेका थिए । मुक्तककार सिताराम घिमिरेले शब्दमा शक्ति हुने बताउँदै कलमले सच्चाई लेख्न आग्रह गरे । साहित्यकार गणेश नेपालीले हाइकूमार्फत सामाजिक विकृतिको चिरफार गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धवल पुस्तकालय, पाल्पाका अध्यक्ष युवराज पौडेलले प्रतिष्ठानको साहित्यमा योगदान र क्रियाशीलताको प्रशंसा गर्दै बनिदेउ भन्ने शीर्षकको कवितामा घाउमा मलहम लगाउन भन्दै अधर्मीलाई सुध्रन मौका देउ भन्दै अहिंसामा जोड दिए । प्रतिष्ठानका अध्यक्ष गोपाल प्रसाद वश्यालले पाल्पामा शिक्षासेवामा समर्पित जापानी समाजसेवी काजुमासा काकिमीप्रति लेखेको द ओके म्यान शीर्षकको अंग्रेजी भाषाको कवितामा काजुमासाको मानवसेवाको उच्च प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार गोम विक्रमले डा. शंकर गैरेद्वारा लिखित बगनासकालीमा साहित्य नामक पुस्तकबारे चर्चा गर्दै पुस्तकमा विभिन्न विधागत परिच्छेदमा सैद्धान्तिक आधारकासाथै विभिन्न विधामा बगनासकालीका साहित्यकारहरूका योगदान र कृतिका बारेमा गरिएको टिप्पणीको चर्चा गरे । उनले गाउँका किसानलाई विचौलियाले ठग्ने गरेको यथार्थतालाई चित्रण गरे । कार्यक्रम वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका महासचिव गणेश नेपालीको सञ्चालन र अध्यक्ष गोपाल प्रसाद वश्यालको सञ्चालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here